भक्तपुरमा ५८ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा भक्तपुरमा जिल्लामा मात्रै एकैपटक थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीवार काठमाडौं उपत्यकामा थपिएका ९४३ जना संक्रमित मध्ये ५८ जना कोरोना संक्रमित भक्तपुर जिल्लाका मात्रै रहेका छन् ।

यसैबीच बितेको २४ घण्टामा नेपालमा थप १ हजार ९११ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १२ हजार ४४४ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ८१७ , ललितपुरमा ६८ र भक्तपुरमा ५८ जनासहित देशभर १ हजार ९११ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ६२८ महिला र १ हजार २८३ पुरुष संक्रमित थप्एिका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा थप ९६१ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ । यो कुल संक्रमितको ७१.९ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या २१ हजार ८३० रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ११ हजार ६९ जना र संस्थागत आईसोलेसनमा १० हजार ७६१ जना छन् । तिमध्ये २२० जना संक्रमितको आईसियु र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ५ हजार ७७ जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सिरहा, ललितपुर, भक्तपुर,चितवन र सुनसरी गरि ८ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार मनाङ, मुस्ताङ, डोल्पा र मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ५०९ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै ११ जनाले ज्यान गुमाएका छन् ।

हिजो (बुधवार) नेपालमा १ हजार ५५९ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार ५७ जना संक्रमणमुक्त भएका थिए भने ७ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?