धुम्बाराहीमा झार, पेरिसडाँडामा ह्वारह्वार

केपी ओली प्रधानमन्त्री बनेर नेकपाको सबैजसो बैठक सरकारी निवास बालुवाटारमा बस्न थालेपछि केन्द्रीय कार्यालय,धुम्बाराही वरिपरि झारले झाडी बनाएको छ । दुईजना पार्टी सचिव, कहिलेकाहीं महासचिवबाहेक अरु नेता तथा कार्यकर्ता त्यहाँ बिरलै पुग्ने गरेका छन् ।

जनवर्गीय संगठन र मोर्चाको कार्यालय रहेका कारण कोटेश्वर,पेरिसडाँडाको कार्यालयमा भने लकडाउनवीच पनि नेता तथा कार्यकर्ताको ओहोरदोहोर भइरहेको बताइन्छ । गत आइतबार पहिलो पटक एकीकृत पार्टीको सचिवालय बैठक बस्दा गतिलै भीड देखियो ।

बालुवाटारमा पो सेना, प्रहरीको ठूलो सुरक्षा घेरा छ जो पायो उही छिर्न पाउँदैन, त्यसैले ‘कोरोना सङ्क्रमणको उच्च जोखिम र भीडलाई ध्यानमा राख्दै’ फेरि सचिवालय बैठक बालुवाटारतिरै फर्काइयो । केन्द्रीय कार्यालय धुम्बाराहीको जिम्मेवारी यतिखेर कार्यालय सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकाल ‘प्रशान्त’ को भागमा मात्र रहेको झैँ देखिन्छ ।

पेरिसडाँडामा कर्मचारी र सहयोगी गरेर आधा दर्जनभन्दा बढी कार्यरत छन् । पुस्तकालय हेर्ने दीपा शर्मा, लेखा शाखामा योवेन्द्र पराजुली, सञ्चार हेर्ने शिव खकुरेल, रिसेप्सनमा सुनिता रेग्मी, जनयुद्धका घाइते पत्रकार निमबहादुर बुढाथोकी र दुईजना कार्यालय सहयोगी दिनदिनै उपस्थित हुन्छन् । सुरक्षा नजिकैको प्रहरी पोस्टले हेर्छ ।

कर्मचारी र कार्यालय सञ्चालन खर्च संसद सचिवालयबाट तत्कालीन एमाले र एमाओवादीले प्राप्त गर्दै आएको बजेट र उठाइएको छुट्टाछुट्टै लेबी रकमबाट जुटाउने गरिएको छ । एकीकृत लेखा प्रणाली पार्टी एकताको तीन बर्ष पुग्न लाग्दा पनि शुरु भएको छैन । पूर्व माओवादीले खरिद गरेको पेरिस डाँडाको मुख्य भवनको रकम लगभग चुक्ता भइसकेको र सहकारीबाट लिइएको थोरै ऋण मात्र तिर्न बाँकी रहेको स्रोतको दाबी छ । जनआस्था साप्ताहिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?