के निर्मला प्रकरणको निस्कर्षमा पुग्दैछ प्रहरी ? आईजीपीले यसो भने

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण घटनामा निष्कर्षमा छिटो पुग्ने गरी काम भइरहेको बताएका छन् ।

संसदको राज्य व्यवस्था समितिमा भएको छलफलमा उनले बलात्कारपछि हत्या गरिएकी पन्तको घटनापछि प्रहरीको छविमा नै धब्बा लागेको र यो घटना पार लगाउन नसके सदाका लागि त्यो धब्बा हुनेछ भन्नेमा आफूहरु सचेत रहेको बताए ।

उनले निर्मला पन्तको केसमा औपचारिक र अनौपचारिक रुपमा अनुसन्धान भइरहेको जानकारी दिए ।

“अहिले घटनाको अहिले ‘रिभ्यु’ भइरहेको छ ।” उनले थपे ।

यसैबीच संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बलात्कारका घटनामा संलग्न व्यक्तिलाई कुनै पनि बाहनामा छुट नदिन सरकारलाई निर्देशन दिएको छ।

पछिल्लो समय देशका विभिन्न ठाउँमा घटेका बलात्कारका घटनाका बारेमा गृहमन्त्री रामबहादुर थापा बादल र प्रहरी महानिरीक्षक शैलेश थापासँगको छलफलपछि समितिले बलात्कारका घटना मिलापत्र गराउने व्यक्ति र निकायलाई बलात्कारको मतियारको रुपमा कारबाही गर्न पनि निर्देशन दिएको हो ।

समितिले अपराधमा संलग्नलाई तत्काल कारबाही गर्ने र पीडितलाई न्यायसहितको क्षतिपूर्तिसहित शिक्षा, स्वास्थ्य बसोबासको व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ।

यस्तै बलात्कार भएको प्राविधिक परीक्षण गर्ने प्रविधि ७७ वटै जिल्लामा पुर्‍याउनुपर्ने, सामाजिक, सुरक्षा प्रणालीमा सुधार गर्नु गर्दै प्रहरी संगठनलाई जिम्मेवार बनाउन पनि समितिले सरकारलाई निर्देशन दिएको छ।

यसअघि बलात्कारका घटना बढीरहेको भन्दै महिला सांसदले बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?