एनसेलले ल्यायो सुलभदरमा डाटा प्रयोग गर्न सकिने सुविधा

काठमाडौं । एनसेलका ग्राहकले बढि शुल्क लाग्ने कुनै डर बिना ढुक्कसँग मेन ब्यालेन्सबाटै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहक लागि आकर्षक साप्ताहिक योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले कर बाहेक ४० पैसा प्रति एमबी सम्ममा डेटा सेवा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो योजना बुधबार (असोज १४) देखि लागु भएको छ । मेन ब्यालेन्सबाटै विद्यमान प्रति एमबी कर बाहेक २ रुपैयाँमा डेटा सेवा प्रयोग गर्ने र सुलभ दरमा डेटा सेवा प्रयोग गर्नका लागि प्याक सुविधा नलिने ग्राहकहरुलाई ध्यानमा राखी सुलभ दरमा सेवा प्रदान गर्न यो योजनामा ल्याइएको कम्पनीले जनाएको छ ।

यस योजनामा ग्राहकले आफ्नो मेन ब्यालेन्सबाट जति धेरै खर्च गर्दछन् त्यसै अनुरुप डेटाको शुल्क अझ सुलभ हुँदै जान्छ । यदी ग्राहकले एक हप्तामा डेटाका लागि २० रुपैयाँसम्म खर्च गरेमा विद्यमान शुल्क २ रुपैयाँ प्रति एमबी पर्दछ । एक हप्तामा ग्राहकले २० रुपैयाँ देखि ५० रुपैयाँ सम्म डेटा सेवामा खर्च गर्ने बित्तिकै सेवा प्रयोगका लागि प्रति एमबी शुल्क १ रुपैयाँमा झर्दछ । त्यसैगरी यदि ग्राहकले एक हप्तामा ५० रुपैयाँ भन्दा बढी खर्च गर्ने बितिकै प्रति एमबी मात्र ४० पैसामा मेन ब्यालेन्सबाटै डेटा सेवाको फाइदा लिन सकिने छ ।

साप्ताहिक चक्रमा हरेका हप्ता आइतबार देखि शनिबार सम्ममा ग्राहकले यस सेवा अन्र्तगत डेटा खर्चको आधारमा यो योजना संचालन हुन्छ । जस्तै कुनै ग्राहकले आइतबार देखि बुधबार सम्ममा डेटा सेवामा २३ रुपैया खर्च गरेमा ग्राहकको मेन ब्यालेन्सबाट २० रुपैँया भन्दा बढि खर्च हुने बित्तिकै शुल्क त्यहि हप्ताको शनिबार मध्यरातसम्मका लागि १ रुपैयाँ प्रति एमबीमा झर्नेछ । त्यस्तै सोहि ग्राहकको खर्च उक्त हप्ता ५० भन्दा बढि हुने बित्तिकै ग्राहकले त्यस हप्ताको शनिवार मध्यरातसम्मका लागि मात्र ४० पैसा प्रति एमबीमा डेटा सेवाको फाइदा लिन सक्दछन् ।

आफ्ना ग्राहकका लागि मेन ब्यालेन्सबाटै सुलभ दरमा डेटा सेवा सुनिश्चित गर्ने यो आकर्षक सेवा ल्याउन पाएकोमा एनसेल निकै हर्षित रहेकोे कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?