काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणमा बढी शुल्क लिने विभिन्न ८ प्रयोगशालालाई तत्काल शुल्क घटाउन निर्देशन दिएको छ ।
आज नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ह्याम्स अस्पतालसहित ८ प्रयोगशालालाई शुल्क समायोजन गर्न निर्देशन दिएको जानकारी दिए ।
यसअघि नै सरकारले ती प्रयोगशालाहरुलाई शुल्क घटाउनका लागि निर्दशन दिएकोमा अटेरी गर्दै आएका थिए ।
त्यस्तै पीसीआर परीक्षणको बढी शुल्क लिनेमा ह्याम्स हस्पतालसहित डिकोड ल्याब, इन्टिपेड ल्याब, नेपाल मेडिसिटी, सिडिएल, स्टार अस्पताल, बिएन्डबी र सूर्य हेल्थ केयर प्रवक्ता गौतमले बताए ।
प्रवक्ता गौतमका अनुसार २४ घण्टाभित्र ती प्रयोगशालाहरूले शुल्क नघटाए परीक्षण स्वीकृति खारेज गरिनेछ। त्यसका लागि राष्ट्रिय जनस्वास्थ्यलाई पत्राचार गर्न निर्देशन दिइसकिएको समेत प्रवक्ता गौतमले बताए ।
यस अघि नै सरकारले देशभरका सबै प्रयोगशालालाई अधिकतम दुई हजार रुपैयाँमा कोरोना परीक्षण गर्नका अनुरोध गरिसकेको छ ।तर केही प्रयोगशालाहरुले यो वा त्यो बहानामा बढी शुल्क लिँदै कोरोना परीक्षण गर्दै आइरहेका छन् ।
यो पनि
काठमाडौं उपत्यकामा ९०२ सहित देशभर थपिए १,५५९ जना संक्रमित, १ हजार ५७ संक्रमण मुक्त
बितेको २४ घण्टामा नेपालमा थप १ हजार ५५९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १२ हजार २०५ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा ६९७ , ललितपुरमा ११२ र भक्तपुरमा ९३ जनासहित देशभर १ हजार ५५९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा थप १ हजार ५७ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ५६ हजार ४२८ पुगेको छ । यो कुल संक्रमितको ७२.५ प्रतिशत हो ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या २० हजार ८९१ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १० हजार ८०४ जना र संस्थागत आईसोलेसनमा १० हजार ८७ जना छन् । तिमध्ये २०१ जना संक्रमितको आईसियु र ३० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ५ हजार ४२८ जना रहेका छन् ।
यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सिरहा, ललितपुर, भक्तपुर,चितवन र सुनसरी गरि ८ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।
डाक्टर गौतमका अनुसार मनाङ, मुस्ताङ, डोल्पा र मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ४९८ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै ७ जनाले ज्यान गुमाएका छन् ।
हिजो (मंगलवार) नेपालमा १ हजार ५१३ जनामा संक्रमण पुष्टि भएको थियो । ७३१ जना संक्रमणमुक्त भएका थिए भने १० जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया