पहिरो पीडितका हातमा जग्गाधनी लालपूर्जा

काठमाडौं । पहिरामा पुरिएर तनहुँको ऋषिङ गाउँपालिकाका आमबहादुर थापा परिवारको पाँच सदस्यको मृत्यु भएको थियो । गत असार २८ गते राति परेको अविरल वर्षापछि घरमाथिबाट खसेको पहिरोमा पुरिएर ऋषिङ गाउँपालिका–८ भैँसीकिल्लीका थापा परिवारको पाँच सदस्यको मृत्यु भएको थियो भने पाँच घर पूर्ण रुपमा क्षति भएको थियो ।

पहिरोले थापासहित स्थानीयवासी हरिकुमार थापा, हिरासिं थापा, भविसरा सुनारी मगर र देवकुमारी थापाको घर पूर्ण रुपमा क्षति पुर्‍याएपछि ऋषिङ गाउँपालिकाले उनीहरुका लागि जग्गा किनेर जग्गाधनी लालपूर्जा प्रदान गरेका छन् ।

पहिरोको उच्च जोखिममा रहेकाले उक्त क्षेत्रबाट ती घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । जग्गा खरिद गरी हातमा लालपूर्जा प्रदान गरेपछि उनीहरुले घर निर्माणका लागि प्रक्रिया अघि बढाएको उनले बताए ।

पहिरोका कारण घर तथा भौतिक संरचना पूर्ण रुपमा क्षति भएका पाँच घरपरिवारलाई एक लाखका दरले कूल  पाँच लाख रकम वितरण गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । गाउँपालिकाले प्रति परिवारका लागि सात आनाका दरले जग्गा खरिद गरी जग्गाधनी लालपूर्जा हस्तान्तरण गरेको हो । उनले भने, “गाउँपालिकाले प्रति परिवारका लागि २० हात मोहडा र ४० हात पिछाड भएको जग्गा घर निर्माण तथा अन्य प्रयोजनका लागिसमेत पुग्ने गरी सात आना उपलब्ध गराइएको छ ।” गाउँपालिकाले सुरक्षित स्थानमा जग्गा खरिद गरी स्थानान्तरण गरेपछि पीडित परिवारले सुरक्षितको अनुभूति गरेको स्थानीय देवबहादुर थापाले जानकारी दिए ।

व्यासको फोहोर व्यवस्थापन समस्या हट्यो

यही असोज ८ गतेदेखि बजार क्षेत्रको फोहोर उठाउन नसकेको तनहुँको व्यास नगरपालिका कार्यालयले अबको केही दिनभित्रै फोहोर सङ्कलन गर्ने तयारी थालेको छ । व्यास नगरपालिका–१ रामदेव पन्त र सन्तबहादुर दरैले साढे पाँच रोपनी जग्गा निःशुल्क रुपमा उपलब्ध गराएपछि फोहोर व्यवस्थापनमा सहज भएको हो ।

व्यास नगरपालिका र जग्गाधनी बीच मङ्गलबार पाँच वर्षका लागि जग्गा सम्झौता भएपछि फोहोर व्यवस्थापनमा सहज भएको व्यास नगरपालिका सरसफाइ उपशाखाका प्रमुख भाग्यशाली ढुङ्गानाले जानकारी दिए । फोहोर व्यवस्थापन गरिने क्षेत्रमा विकास निर्माणका योजनालाई प्राथामिकता दिने सहमतिसमेत नगरपालिकाले गरेको उनले बताए ।

नगरपालिकाले मादी नदी किनारमा फोहोर व्यवस्थापन गर्दै आएको दुई स्थानमा नदीमा आएको बाढीले कटान गरी बगाएपछि फोहोर व्यवस्थापनमा कठिनाइ भएको थियो । नगरपालिकाले व्यास वडा नं १, २, ३, ४ र ५ का केही क्षेत्रको फोहोर सङ्कलन गरी दैनिक एघार टन फोहोर व्यवस्थापन गर्दै आएको छ ।

नकुहिने आठ र कुहिने तीन टन गरी दैनिक एघार टन फोहोर सङ्कलन गरी व्यवस्थापन गर्दै आएको तनहुँको व्यास नगरपालिकाले फोहोर विर्सजन स्थल नहुँदा हालसम्म बजार क्षेत्रका फोहोर उठाइएको छैन । मङ्गलबार मात्रै सम्झौता भएको क्षेत्रमा केही दिन डोजर लगाएर काम गर्नुपर्ने अवस्था देखिएकाले कम्तीमा तीन दिन फोहोर सङ्कलन नगरिने सरसफाइ उपशाखाका प्रमुख भाग्यशाली ढुङ्गनाले जानकारी दिए ।

फोहोर व्यवस्थापनको दीर्घकालीन योजना

व्यास नगरपालिका–१० स्थित रानीपानी सामुदायिक वन क्षेत्रमा नगरपालिकाले दीर्घकालीन रुपमा फोहोर विर्सजनस्थल निर्माण कार्य अघि बढाएको छ । वातावरणीय प्रभाव मूल्याँकनको रिर्पोट आउन बाँकी रहेकाले तत्कालका लागि माथिल्लो भतेरीमा फोहोर व्यवस्थापन गर्न लागिए पनि नदी कटानले समस्या भएको वातावरणीय अध्ययन सहयोग तथा परामर्श समितिका संयोजक एवं व्यास–४ का वडाध्यक्ष विश्व न्यौपानेले जानकारी दिए ।

उक्त क्षेत्रमा करिब ७ रोपनी जग्गा पर्याप्त मात्रामा रहेकाले फोहोर विर्सजनको सम्भावना बढीरहेकाले प्रक्रिया अघि बढीरहेको संयोजक न्यौपानेले बताए । तत्कालको समस्यालाई मध्यनजर गर्दै पाँच वर्षका लागि जग्गा सम्झौता गरी फोहोर व्यवस्थापन गर्न लागिएको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए । उक्त अवधिभित्र नगरपालिकाले अघि बढाएको दीर्घकालीन फोहोर व्यवस्थापन कार्य पनि सम्पन्न गरी सक्ने योजना नगरपालिकाको रहेको उनले बताए ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?