कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, कुन जिल्लाका कति ?

काठमाडौं । नेपालमा कोरोनाको कारण थप ७ जनाको मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४९८ पुगेको छ । यो कुल संक्रमितको ० दशमलव ६५ प्रतिशत हो । आज मृत्यु हुनेमा २ जना महिला र ५ जना पुरुषहरु रहेका छन् ।

यसैबीच बितेको २४ घण्टामा नेपालमा थप १ हजार ५५९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १२ हजार २०५ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ६९७ , ललितपुरमा ९३ र भक्तपुरमा ११२ जनासहित देशभर १ हजार ५५९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा थप १ हजार ५७ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ५६ हजार ४२८ पुगेको छ । यो कुल संक्रमितको ७२.५ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या २० हजार ८९१ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १० हजार ८०४ जना र संस्थागत आईसोलेसनमा १० हजार ८७ जना छन् । तिमध्ये २०१ जना संक्रमितको आईसियु र ३० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ५ हजार ४२८ जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सिरहा, ललितपुर, भक्तपुर,चितवन र सुनसरी गरि ८ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार मनाङ, मुस्ताङ, डोल्पा र मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

हिजो (मंगलवार) नेपालमा १ हजार ५१३ जनामा संक्रमण पुष्टि भएको थियो । ७३१ जना संक्रमणमुक्त भएका थिए भने १० जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?