एक जना पनि कोरोना संक्रमित नभएका यी ४ जिल्ला

काठमाडौं । नेपालमा कोरोना संक्रमित शुन्य रहेका ४ वटा जिल्लाहरु रहेका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नेपालका ४ जिल्लामा कोरोना संक्रमित शुन्य रहेको बताएका छन् ।

कोरोना संक्रमण मुक्त ४ जिल्लाहरु

  • मनाङ
  • मुस्ताङ
  • डोल्पा
  • मुगु

बितेको २४ घण्टामा नेपालमा थप १ हजार ५५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १२ हजार २०५ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ६९७ , ललितपुरमा ११२ र भक्तपुरमा ९३ जनासहित देशभर १ हजार ५५९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा थप १ हजार ५७ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ५६ हजार ४२८ पुगेको छ । यो कुल संक्रमितको ७२.५ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या २० हजार ८९१ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १० हजार ८०४ जना र संस्थागत आईसोलेसनमा १० हजार ८७ जना छन् । तिमध्ये २०१ जना संक्रमितको आईसियु र ३० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ५ हजार ४२८ जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सिरहा, ललितपुर, भक्तपुर,चितवन र सुनसरी गरि ८ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ४९८ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै ७ जनाले ज्यान गुमाएका छन् ।

हिजो (मंगलवार) नेपालमा १ हजार ५१३ जनामा संक्रमण पुष्टि भएको थियो । ७३१ जना संक्रमणमुक्त भएका थिए भने १० जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?