घरबास चलाउन गौरीशङ्कर आयोजनाबाट सामग्री सहयोग

चरीकोट । विश्वमा नै पर्यटन व्यवसाय धराशयी बनिरहेका अवस्थामा पर्यटन प्रवर्द्धन गराउनका लागि घरबास सञ्चालन गर्न गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाले १० घरपरिवारका लागि आवश्यक सामग्री सहयोग गरेको छ ।

दोलखा जिल्लामा पर्ने सो संरक्षण क्षेत्र अन्तर्गत बिगु गाउँपालिका वडा नम्बर १ लामाबगरमा होमस्टे सञ्चालन गर्न आवश्यक सामग्री प्रदान गरिएको हो ।

पर्यटनको प्रचुर सम्भावना रहेको उक्त क्षेत्रमा लामाबगर, माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँधस्थल, लप्ची, रोल्वालिङ हिमालय जाने मार्गको प्रस्थानविन्दु छन् ।

भविष्यमा लामाबगरमा विशेष गरी जलपर्यटन बढ्ने सम्भावना र स्रोतसाधन पनि रहेकाले पूर्वाधार विकास गर्न घरबास सञ्चालन गर्न लागिएको गौरीशङ्कर संरक्षण क्षेत्र आयोजना प्रमुख सत्यनारायण शाहले बताए ।

होमस्टे सञ्चालनका लागि प्रतिघर २० हजार बराबरको सामग्री वितरण गरिएको छ । प्रतिघर एक कोठाका दुई शैयाका लागि आवश्यक पर्ने सिरक, डस्ना, तकिया दुईदुई थान, चप्पल, डोरम्याट, डस्टबिन, तौलिया, ह्याङ्गर, ऐना, रजिष्ट्रर, एस्ट्रे, होमस्टे बोर्ड एकएक थान र कार्पेट ६ मिटर वितरण गरिएको पर्यटन सहायक याङ्टी शेर्पाले बताए ।

उच्च हिमाली क्षेत्रमा रहेको सो संरक्षण क्षेत्रमा पर्ने विभिन्न पर्यटकीय गन्तव्यको अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको छ ।

लकडाउनपूर्व रोल्वालिङ हिमशृङ्खला, च्छोरोल्पा हिमताल, लप्ची, गुम्लालगायत क्षेत्रमा भ्रमणका लागि स्वदेशी तथा विदेशी पर्यटकको बाक्लो उपस्थिति थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?