आँधीखोला आयोजनाको अध्ययन छिटो सम्पन्न गर्न निर्देशन

काठमाडौं । सरकारले हरेक प्रदेश एक गौरवका आयोजनाका रुपमा समेत राखेको आँधीखोला जलाशययुक्त आयोजनाको काम अगाडि बढाउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भएको छलफलमा सो आयोजनाको अध्ययन प्रक्रिया सम्पन्न गरी निर्माणको वातावरण बनाउने गरी काम अगाडि बढाउने सहमति भएको छ ।

कूल १८० मेगावाट क्षमताको सो आयोजना गण्डकी प्रदेशको समेत गौरवको आयोजना हो । हाल आयोजनाको सम्भाव्यता अध्ययनको काम भइरहेको छ । ऊर्जामन्त्री वर्षमान पुनले आँधीखोला जलाशययुक्त आयोजनाको अध्ययनको काम तत्काल सम्पन्न गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालसहित स्याङ्जा जिल्लाका जनप्रतिनिधि र प्राधिकरणका निमित्त कार्यकारी निर्देशकलगायतको उपस्थितिमा भएको छलफल कार्यक्रममा ऊर्जामन्त्रीले सो आयोजना प्राविधिक रुपमा सबल भएपनि आर्थिक तथा सामाजिक रुपमा के कस्तो रहेको छ भन्ने हेरेर तत्काल अध्ययनको काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

मन्त्री पुनले सो आयोजनालाई ऊर्जा मन्त्रालयले २०७५ वैशाखमा सार्वजनिक गरेको श्वेतपत्रमा समेत समावेश गरेको र हरेक प्रदेश एक गौरवको आयोजनाको रुपमा राखेको उल्लेख गर्दै अध्ययनमा भइरहेको ढिलाइप्रति समेत जिज्ञासा राखेका थिए।

नेपाल विद्युत् प्राधिरकणले सो आयोजनाको अध्ययन गरिरहेको छ । प्राधिकरणका कुनै पनि आयोजना नभएको अवस्थामा आँधीखोला आयोजना आफैँमा पनि प्राधिकरणका लागि समेत महत्वपूर्ण रहेकाले यसको मर्म र गम्भीरतालाई आत्मसात् गर्न मन्त्री पुनको भनाइ थियो । उहाँले अध्ययनमा मात्रै समय लगाउने प्रवृत्तिबाट बाहिर निस्केर तत्काल काम सम्पन्न गर्न प्राधिकरणको नेतृत्वलाई आग्रह गरे।

चालिस वर्षदेखि चर्चामा रहेको सो आयोजना शीघ्र निर्माणमा जाओस् भन्नेमा आयोजना प्रभावित स्याङ्जाका स्थानीयबासीले आग्रह गर्दै आएका छन् । स्थानीय जनप्रतिनिधिसहित आयोजनाको बारेमा जिज्ञासा राख्न ऊर्जा मन्त्रालय पुगेकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अर्यालले आयोजनाबाट विद्युत् मात्रै नहेरी त्यसको बहुपक्षीय लाभ रहेको बताइन् । मन्त्री अर्यालले आयोजनालाई शिघ्र निर्माणमा लेजाने गरी काम गर्न ऊर्जामन्त्री पुनलाई आग्रह गरिन् ।

प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले आयोजनाको अध्ययनलाई छिटो स्म्पन्न गरिने र त्यसका लागि आफ्नो तर्फबाट विशेष पहल हुने बताए । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले सन् २०११ मा गरेको अध्ययनमा सो आयोजनालाई आकर्षक आयोजनाको रुपमा राखेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?