नेपालमा थप ७ सय ३१ जना कोरोना संक्रमण मुक्त

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ७ सय ३१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ५५ हजार ३ सय ७१ पुगेको छ । कुल संक्रमित मध्ये ७२.६ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

बितेको २४ घण्टामा नेपालमा थप १ हजार ५१३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार ८९१ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ७४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ जनासहित देशभर १ हजार ५१३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या २० हजार ३९६ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १० हजार ७०७ जना र संस्थागत आईसोलेसनमा ९ हजार ६८९ जना छन् । तिमध्ये २१३ जना संक्रमितको आईसियु र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ५ हजार ७७८ जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सिरहा, ललितपुर, भक्तपुर,चितवन गरि ७ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला र मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ४९१ जनाको मृत्यु भएको छ ।

हिजो (सोमवार) नेपालमा १ हजार ३५१ जनामा संक्रमण पुष्टि भएको थियो । ७४२ जना संक्रमणमुक्त भएका थिए भने ४ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?