२०७७, १३ आश्विन मंगलवार १५:३७

क्वारेन्टाइन व्यवस्थित गर्दै स्थानीय सरकार


प्रकाशित मिति : २०७७, १३ आश्विन मंगलवार १५:३७

धादिङ । धादिङमा कोभिड–१९ को जोखिम बढ्दै गएकाले स्थानीय सरकारले क्वारेन्टाइनलाई थप व्यवस्थित गर्न थालेका छन् ।

कोरोना भाइरसको बढ्दो संक्रमण र नजिकिँदो चाडपर्वको कारण स्थानीय सरकारले क्वारेन्टाइनको बसाइ आचारसंहिता निर्माणदेखि यसको व्यवस्थापनमा जुटेका हुन् ।

शुरुमा विद्यालय र सरकारी भवनमा क्वारेन्टाइन सञ्चालन गरिएको थियो । कक्षा सञ्चालनको तयारीका लागि क्वारेन्टाइन र आइसोलेसनका लागि प्रयोग गरिएको विद्यालयको भवनहरु खाली गरिएको छ । स्थानीय सरकार नयाँ ठाउँमा बनाइएका क्वारेन्टाइन र आइसोलेसनको राम्रो व्यवस्थापनमा जुटेका छन् । नयाँ ठाउँमा बन्दै गरेको क्वारेन्टिनमा धादिङका ७ वटा स्थानीय सरकारले क्वारेन्टिनमा बस्दा अपनाउनुपर्ने विभिन्न नौ बुँदे आचारसंहितासमेत जारी गरेका छन् ।

अब क्वारेन्टाइन र आइसोलेसनमा बस्नेले आचारसंहिता पालना गर्नुपर्ने र यसले अवश्य संक्रमणको जोखिम कम हुने खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले बताए। उनले क्वारेन्टाइन र आइसोलेसनको व्यवस्थापन सरकारले तोकेको मापदण्डलाई पछ्याउँदै आफ्नो भूगोल र समुदायलाई हेरेर गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय, स्वास्थ्य संयोजक र एक्सन नेपालको टिम मिलेर व्यवस्थापन र बसाइ आचारसंहिताको निर्माण गरिएको छ । यसरी निर्माण भएको आचारसंहितालाई सातवटा पालिकाले अनुशरण गर्न थालेका छन् ।

क्वारेन्टाइन र आइसोलेसनको राम्रो व्यवस्थापन गर्न सकिएन भने संक्रमणको उच्च जोखिम हुने देखिन्छ । स्थानीय सरकार नै बसाइ आचारसंहिता निर्माणदेखि क्वारेन्टाइनको व्यवस्थापनमा जुट्दा क्वारेन्टाइन र आइसोलेसनमा बस्नुपर्दा पनि संक्रमित र जोखिममा रहेका व्यक्तिहरु थप जोखिममा रहेको महशुस गर्न नपाउने गङ्गाजमुना गाउँपालिकाका स्वास्थ्य संयोजक दीपक अधिकारीले बताए । यसरी स्थानीय सरकारले क्वारेन्टाइन निर्माण गरेको क्षेत्रमा स्वास्थ्य र सरसफाइका लागि अन्तरराष्ट्रिय गैरसरकारी संस्था डिसिएले सहयोग पुर्याएको छ ।

क्वारेन्टाइनमा रहने प्रत्येक व्यक्तिलाई आवश्यक पर्ने व्यक्तिगत सरसफाइ सामग्रीदेखि क्वारेन्टाइनमा इन्टरनेट, टेलिभिजन, महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय र स्नानघरसमेत डिसिएले निर्माण गरिदिएको छ ।

यसरी व्यवस्थित भएको क्वारेन्टाइनमा दुई साता बसेकी धादिङ ज्वालामुखीकी गोमा श्रेष्ठ आफू क्वारेन्टिनमा बसेको समय निकै सुरक्षित र व्यवस्थितसँग बिताउन पाउँदा निकै खुशी देखिन्छिन् । उनलाई पर्याप्त स्वास्थ्य सामग्री र छुट्टै बसाइ, छुट्टै शौचालय र स्नानघरको व्यवस्था भएको देख्दा निकै दङ्ग देखिन्छिन् । उनी छिमेकी मुलुक भारतबाट फर्किएर क्वारेन्टाइनमा बस्न आएकी थिइन् । पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनी घर जाने तरखर गर्दै गर्दा आफ्नै गाउँमा आइपुगेर व्यवस्थितसँग क्वारेन्टिनमा बस्न पाउँदा र कोरोना परीक्षणपश्चात् मात्र घर फर्किन पाउँदा निकै खुसी व्यक्त गरिन् । उनले क्वारेन्टाइनको व्यवस्थापनको निकै बेर प्रशंसा गरेर गइन् ।

धादिङमा क्वारेन्टाइन र आइसोलेसन बसाइसम्बन्धी नागरिक आचारसंहिता र सञ्चालन तथा व्यवस्थापन मापदण्ड तयार गरी सातवटा स्थानीय तहका १० वटा क्वारेन्टाइनलाई व्यवस्थित बनाइएको छ ।

खनियाबास, गङ्गाजमुना, ज्वालामुखी, बेनिघाट रोराङ, गजुरी, गल्छी र थाँक्रे गाउँपालिकाले क्वारेन्टाअइन सञ्चालन तथा व्यवस्थापन मापदण्डअनुसार बनाइएको छ भने क्वारेन्टिन र आइसोलेसन बसाइसम्बन्धी नागरिक आचारसंहिता पनि लागू गरिएको छ । यस किसिमको नयाँ मापदण्डले पक्कै पनि संक्रमण फैलनबाट बचाउने अपेक्षा गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस