सामुदायिक वनको संरक्षणमा सबैको सहयोग जरुरी

काठमाडौं । सामुदायिक वनको संरक्षणमा व्यक्ति, समाज, सरकारी तथा गैरसरकारी निकाय सबैको सहयोग र क्रियाशीलता आवश्यक रहेको बताइएको छ । सामाजिक सेवा दिवसका सन्दर्भमा सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश नं २ ले जुममार्फत आयोजना गरेको सामाजिक सेवामा सामाजिक वन विषयक अन्तक्र्रियामा महासंघका अध्यक्ष भारती पाठकले कोभिड १९ बाट सबैभन्दा धेरै प्रभावित सो प्रदेशले निरन्तर काम गरिरहनु प्रसंशनीय रहेको बताए ।

उनी भन्छन्, “एउटा सामुदायिक वन उपभोक्ता समूहका व्यक्तिले गरेको गल्तीलाई लिएर पुरै समूहलाई राज्यले गलत ठहरयाउनु निन्दनीय छ ।” उनले कोभिड १९ को महामारीमा पनि आफ्ना संस्थागत गतिविधिलाई निरन्तरता दिएको बताए । महासङ्घका महासचिव बिर्ख शाहीले देशको राजनीतिक परिवर्तनमा वन उपभोक्ता समूहको अतुलनीय योगदान रहेको बताए।
महासंघका सचिव ठाकुर भण्डारीले परम्परागत क्षमतालाई प्रविधिमा रुपान्तरण गरी उद्यमशीलतमा जाने उद्देश्य सहितको कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रदेश नं २ महासंघका अध्यक्ष सोम शर्माले कोभिड १९ को महामारी रोकथाममा प्रदेशका सामुदायिक वन उपभोक्ता समूहले सरकारलाई रु ५० लाख सहयोग गरी १३ हजार स्वयमसेवी परिचालन गरेको जानकारी दिए । उनले महामारीमा महासंघले देशव्यापी रुपमा २२ हजार बढी उपभोक्ता समूहलाई क्रियाशील बनाउनु प्रशंंसनीय रहेको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?