दशैँको पीडा : ‘आकाशबाट बाकसमा नआए, ढोका खोल भन्नेछु म आए’

लोकपथ
416
Shares

काठमाडौं – अन्य वर्षहरुभन्दा विल्कुलै फरक अर्थात् कोरोना भाइरस ‘कोभिड – १९’ को कहरकाबीच बडा दशैँ मनाईँदैछ ।

कोरोनाको कहरका कारण लाखौँको ज्यान गुमिरहेको,संक्रमितको संख्या बढीरहेको, यसविरुद्धको भ्याक्सिन वा औषधीको उपलब्धता नभएको यो अवस्थामा दशैँको रौनकता पोहोरपरार जस्तो छैन ।

अझ परदेशीएका नेपालीहरुको पीडा भनिसाध्यै छैन ।

यसैबीच दशैँ नजिकीएसँगै ईन्टरनेटको माध्यमद्वारा युट्युबमा दशैँका विभिन्न वेदना समेटेर परदेश र घरदेशमा चलेको रुवाबासी र मनमा सल्कीएको पीडादायी परिस्थिती समेटेर बनाईएका गितहरु पनि अत्याधिक हेरिन्छन् ।

यस्तै अत्याधिक रुचाईएको एउटा गित हो, विष्णु खत्रीको रिनै रिनको । यो गितका शब्दहरु अहिले सामाजिक सञ्जालमा पनि उत्तिकै देखिन्छन् ।

 ‘आकाशबाट बाकसमा नआए
ढोका खोल भन्नेछु म आए’ (पुरुष)

‘घरै धराप छ पहिरो खसेर
बाली खायो सलह पसेर’ (महिला)

यी शब्द लोकगायक विष्णु खत्रीको दशैँ गीत ‘रिनै रिनको’का हुन् । गीतमा प्रवासी नेपाली र तिनका आश्रित परिवारको दुःख, पीडा अभिव्यक्त छ । श्रीमान्ले दशैँमा घर आउने दिनको ठेगान छैन भन्छन् । श्रीमतीलाई जीवनसाथी नभएको गाउँघर शून्य लाग्छ ।

श्रीमान् भन्छन्– के दशैँ मान्छ्यौ र रिनै रिनको
मेरो केही भर छैन आउने दिनको ।

श्रीमती भन्छिन्– के दशैँ मानौ र रिनै रिनको
शून्य छ गामवेशी तिमी बिनाको ।।

कोरोना महामारीका कारण कमाइ गुमेको छ । दशैँ खर्च पठाउन सक्ने स्थिति छैन । यता श्रीमतीलाई बालबच्चा र घर धान्न गाह्रो छ । परदेशी कहिले आउँछन् भनेर बाटो कुर्न विवश छिन् ।

भन्छिन्– चर्न गाको गाई गोठमा फर्कन्छ
साँझपख झनै मन चर्कन्छ ।।

श्रीमान् आफैसँग गुनासो गर्छन्–

बाउ त बने बाउ जस्तो भैन म
हेर्नै छाडेँ आफ्नो मुख ऐनामा ।।

चाडबाडमा पनि परिवारको मन दुःखाएकामा उनी पछुतो मान्छन् । परदेशी हुनुको विवशता स्वीकार्छन् । गीतको सवालजवाफ अघि बढ्छ । आखिरीमा श्रीमती पुकारा गर्छिन्–

मर्न पाए तिम्रो मुख हेरी
छोड्थ्यो कि त सुसाउन सल्लेरी
रिनै रिनको..
गीत टुङ्गिन्छ ।

गीतमा खत्री र गायिका पूर्णकला बिसीको स्वर छ । रचना र सङ्गीत पनि गायक खत्रीकै छ ।

सुमधुर क्रियशनद्वारा उत्पादित गीतको म्युजिक भिडियोमा कलाकार ओवी रायमाझी र सारिका केसीको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन कपिल लामाले गरेका छन् । मन छुने शब्द, स्वर, मौलिक भाका र ग्रामीण परिवेश झल्काउने भिडियोका कारण गीतलाई स्रोता/दर्शकले रुचाएका छन् ।

लोकगायक खत्रीका यसअघि ‘सुनको जलप’, ‘दशैँ तिहार सँगै मनाउँला’, ‘दशैँमा आउ प्यारा’, ‘कति रुनी हो’ लगायत दर्जनभन्दा बढी दशैँ गीत सार्वजनिक भएका छन् ।

बागलुङको गलकोट नगरपालिका–७ मल्ममा जन्मिएका उनी दुई दशकदेखि लोकसङ्गीतमा सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?