काठमाडौं । नेपालमा थप ७ सय ४२ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ५४ हजार ६ सय ४० रहेको छ । कुल संक्रमित मध्य ७३.१ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
बितेको २४ घण्टामा नेपालमा थप १ हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार ८० नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १९ हजार ६२४ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १० हजार ९२९ जना र संस्थागत आईसोलेसनमा ८ हजार ६९५ जना छन् । तिमध्ये २२५ जना संक्रमितको आईसियु र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ६ हजार ३१० जना रहेका छन् ।
यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सिरहा, ललितपुर, भक्तपुर,चितवन गरि ७ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।
डाक्टर गौतमका अनुसार मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला र मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ४८१ जनाको मृत्यु भएको छ ।
हिजो (आईतवार) नेपालमा १ हजार ५७३ जनामा संक्रमण पुष्टि भएको थियो । ८८५ जना संक्रमणमुक्त भएका थिए भने १० जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया