नयाँ आर्थिक वर्षको पहिलो महिनामा कस्तो रह्यो शेयर बजार ?

काठमाडौं । २०७६ साउन मसान्तमा १२२४ बिन्दु रहेको नेप्से सूचकाङ्क २०७७ साउनमा १३९१.५ पुगेको थियो । २०७७ असार मसान्तमा यस्तो सूचकाङ्क १३६२.४ रहेको थियो ।

२०७७ साउन मसान्तमा धितोपत्र बजार पुँजीकरण १८ सय ३६ अर्ब ७९ करोड पुगेको छ । २०७७ असार मसान्तमा बजार पुँजीकरण १७ सय ९२ अर्ब ७६ करोड रहेको थियो ।

२०७७ साउनमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०८ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४३ बैंक तथा वित्तीय संस्था र बीमाकम्पनी रहेका छन् भने ३३ जलविद्युत कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र ५ अन्य समूहका रहेका छन् ।

२०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ७८.३ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ५.२ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.५ प्रतिशत, होटेलको हिस्सा १.१ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.३ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ११.६ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ साउनसम्ममा सूचीकृत ४ अर्ब ८३ करोड शेयरको चुक्ता मूल्य ४ सय ७३ अर्ब ८८ करोड रहेको छ । आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा २ अर्ब ९३ करोड बराबरको बोनस शेयर, २ अर्ब बराबरको डिबेन्चर र १ अर्ब २२ करोड बराबरको साधारण शेयर गरी कुल ६ अर्ब १५ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ६३ करोड ८६ लाख बराबरको साधारण शेयर निष्काशन गर्न अनुमति दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?