काठमाडौं । बिरामी उपचार सेवामा सहज पार्न रेडक्रस रसुवाले आफ्नो स्वामित्वको एम्बुलेन्स पुनःसञ्चालनमा ल्याएको छ । मर्मत हुन नसकी लामो समयदेखि थन्किएको एम्बुलेन्स पुनः सञ्चालनमा आएपछि छिटोछरितो बिरामी अस्पताल पुर्याउन सहज भएको छ ।
एम्बुलेन्स मर्मतका लागि प्रतिनिधिसभा सदस्य मोहन आचार्यले रु दुई लाख ८० हजार सहयोग प्रदान गरेका रेडक्रस जिल्ला शाखा रसुवाका सभापति बाबुलाल तामाङले बताए । जहाँ दुःख त्यहाँ रेडक्रस भन्ने पवित्र नारा बोकेको संस्था भए पनि एम्बुलेन्स मर्मत गर्ने रकमको अभाव भइरहेको अवस्थामा सांसद आचार्यले दिएका मर्मत सहयोग महत्वपूर्ण भएको रेडक्रसले जनाएको छ । दुई वर्षदेखि थन्किएको एम्बुलेन्स सञ्चालनमा आएपछि स्थानीय बासिन्दा खुशी भएको स्थानीय समाजसेवी सोनामसाङ्मो तामाङले बताए ।
यस्तै सांसद आचार्यले आफ्नो निजी स्काभेटर निःशुल्क उपलब्ध गराई पहिराबाट सडकमा भएका अवरोध हटाउने कार्यमा सहजीकरण गर्ने र छोटो दूरीका नयाँ ग्रामीण सडक निर्माण जस्ता विविध कार्यमा विगत वर्षदेखि नै सहयोग गर्दै आएका उत्तरगया गाउँपालिकाले जनाएको छ ।
सेनाद्वारा बार निर्माण
तीर्थस्थल गोसाइँकुण्डको पदमार्गमा नेपाली सेनाले फलामे बारलगायत संरचना निर्माण सम्पन्न गरेको छ । श्रीनीलकण्ठको दर्शनानार्थ वर्षेनी ओहरदोहर गर्ने हजारौँ भक्तजनको धार्मिक यात्रा सहज पार्न लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालीजङ्ग गणले असहज स्थानको पूरै भागमा फलामे बार लगाउने काम गरेको हो ।
बुद्घमन्दिरदेखि गोसाइँकुण्डसम्म दुई दशमलव ५८ किलोमिटर पदमार्गअन्तर्गत छेउका पूरै भागमा गणको आन्तरिक जनशक्तिबाट फलामे पाइप जडान गरी बार लगाउने काम सम्पन्न गरिएको उक्त गणले जनाएको छ ।
फलामे बारको अलावा नेपाली सेनाले एकसाथ दुई स्वागतद्वार, भक्तजनका दुई विश्रामस्थल र बुद्घ मन्दिरसमेत निर्माण गरेको छ । बार राख्ने पाइपलगायत सामग्री खरीद तथा ढुवानीका लागि ठेक्का प्रणालीमार्फत रू ३५ लाख ६ हजार ६६२ खर्च भएको बताइन्छ ।
लेक लाग्ने स्थानमा जेनेटरको सहायताबाट गणका अधिकृत तथा जवानले धार्मिक क्षेत्रमा गरेको योगदान उल्लेखनीय भएकाले आफ्नो संस्थाका तर्फबाट सम्मानपत्र प्रदान गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले बताए ।
नेपाली सेनाका नं ६ बाहिनीपति सुनिल श्रेष्ठको उपस्थितिमा कालीजङ्ग गणका गणपति सविन्द्र नगरकोटीले आइतबार गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङलाई सो संरचना हस्तान्तरण गरेका थिए ।
तयार गरेका संरचना बुझ्दै अध्यक्ष तामाङले लेक लाग्ने समस्याले काम गर्न गाह्रो पर्ने क्षेत्रमा नेपाली सेनाले गरेको काम प्रशंसनीय भएको बताए । बाहिनीपति श्रेष्ठ र गाउँपालिका अध्यक्ष तामाङले संयुक्त रूपमा उद्घाटन गर्नुभएको सो संरचना संरक्षण गर्ने दायित्व अब स्थानीय सरकारमा सरेको गोसाइँकुण्ड गाउँपालिकाले जनाएको छ ।
प्रत्येक वर्ष गंगा दशहरा तथा जनै पूर्णिमाको प्रमुख पर्व वा अन्य समय यात्राका क्रममा रिँगटा लागेमा बारको सहायता लिन सकिने र भीरबाट लड्ने सभावना हटेको बताउँदै वरिष्ठ समाजसेवी दावाफिन्जो तामाङले उक्त गणका गणपतिलगायत सम्पुर्ण गण परिवारप्रति कृतज्ञता व्यक्त गरे ।
उच्च भूभागका स्थानमा नेपाली सेनाले गत जेठ २१ गतेदेखि ११७ दिनभित्र बार लगाउने काम सम्पन्न गरेको निकुञ्जले जनाएको छ । समुद्री सतहदेखि १४ हजार एक सय फिट उचाइमा अवस्थित गोसाइँकुण्डको पैदलमार्ग अत्यन्तै सहज भएको र हवाई मार्गका लागि एक हेलिप्याड निर्माण गर्न जरूरी भएको स्थानीयवासीले बताएका छन् ।
गोसाइँकुण्ड गाउँपालिकासँगको सहकार्यमा उक्त गणले विगतमा ऐतिहासिकस्थल रसुवागढीमा राष्ट्रिय झण्डा फहराई शिलालेखसमेत तयार पारेको थियो । आपत्कालीन अवस्थाका लागि धुञ्चेमा रात्रिकालीन हेलिप्याड निर्माण तथा बोकेझुण्डा र नागुङ प्राविको पूर्वाधार निर्माणमा गण परिवारले उल्लेखनीय योगदान पुर्याएको निकुञ्जले जनाएको छ । विसं २०७२ को भूकम्पपछि उद्धार एवं पुनःनिर्माण कार्यमा यसअघि नारायणदल गणको योगदान उल्लेखनीय रहेको थियो ।
- रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया