९३ औं ओस्कार अवार्डका लागि आवेदन खुल्ला

काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले ९३ औं ओस्कार अवार्डमा सहभागिताका लागि आवेदन खुला गरेको छ । समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै ओस्कारको प्रतिष्पर्धामा सामेल हुन इच्छुक नेपाली फिल्मकर्मीले असोज १३ गतेदेखि असोजको २९ गतेभित्रमा आफ्नो फिल्म नेपालको ओस्कारकमिटीलाई बुझाउन आह्वान गरेको छ ।

यसअघि फ्रेब्रुअरीमा हुँदै आएको अवार्ड कोरोना महामारीका कारण दुई महिना पर धकेलिएको थियो । नयाँ मिति अनुसार ओस्कार अवार्ड अप्रिल २५ का दिन आइतबार लसएञ्जल्सको डल्बी थिएटरमा सम्पन्न हुनेछ । महामारीकै कारण ओस्कारले सहभागिताका लागि केही नियममा पनि परिवर्तन गरेको थियो । परिवर्तित नियममा महामारीका कारण रिलिज गर्ने समय तोकेर पनि रिलिज हुन नसकेको फिल्मले पनि सहभागिता जनाउन पाउने लचिलो प्रावधान एक थियो ।

अघिल्ला वर्षहरुमा कुनैपनि फिल्म हलमा रिलिज भएर हप्ता दिनसम्म चलेकै हुनुपर्ने नियम थियो । तर, यो साल यसरी हलमा रिलिज हुन नसकेका फिल्मले पनि ओस्कारको प्रतिस्पर्धामा सामेल हुन पाउनेछन् ।

यसका लागि सम्बन्धित फिल्मले सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट फिल्म रिलिज रोकिएको पत्र नेपालको ओस्कार कमिटीलाई बुझाउनु पर्नेछ । त्योसँगै यसरी रोकिएका फिल्म हलमा नलागी स्ट्रिमिङ साइटमा आएका छन् भने पनि तिनले सहभागिता जनाउन सक्नेछन् ।

नेपालमा बिमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेसनल फिचर फिल्म कार्यकारी समिति रहेको छ । जसमा राजेन्द्र शलभ, लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय, लोकेन्द्र पराजुली, राजुबिक्रम थापा, चिरञ्जीवी गुरागाँई र सामीप्यराज तिमल्सेना सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?