काँग्रेस नेता खड्काको गाडीले किच्दा महिलाको मृत्यु, प्रहरीमा किटानी जाहेरी

लोकपथ
0
Shares

काठमाडौं । गत असोज ७ गते बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ की अनुपा कार्की आफ्नो श्रीमानसहित काम विशेषले त्रिवि शिक्षण अस्पताल पुगेकी थिइन् । पैदल हिँड्दै गर्दा त्रिवि शिक्षण अगाडिको सडक पार गर्नै लाग्दा लाजिम्पाटबाट महाराजगन्जतर्फ हुत्तिएर आएको एफजेड मोटरसाइकलले एकाएक उनीहरुलाई ठक्कर दिन पुग्यो ।

मोटरसाइकलको ठक्करबाट अनुपा एकातिर लडिन् भने उनका श्रीमान अर्कौतर्फ लडे । त्यही बेला तीव्र गतिमा रहेको बा ११ च ४१४१ नम्बरको गाडीको टायरले अनुपालाई किच्न पुग्यो । सो पछि गम्भीर घाइते भएकी उनको उपचारको क्रममा सोही दिन मृत्यु हुन पुगेको प्रहरीले जनाएको छ । यस्तै श्रीमानलाई भने केही चोट लागेपनि अहिले उनको अवस्था सामान्य रहेको छ ।

घटनापछि नम्बर खुल्न नसकेको एफजेड बाइक र गाडी दुबै फरार भएपछि बूढानिलकण्ठ वडा नम्बर ६ का जनप्रतिनिधिले दोषीमाथि कारबाहीको माग गर्दै महानगरीय प्रहरी बृत्त महाराजगन्जमा उजुरी दिएका थिए । सो उजुरीपछि प्रहरीले गाडी पत्ता लगाएपनि मोटरसाइकल भने अहिलेसम्म फेला पार्न सकेको छैन । फेला परेको गाडी पत्तो लागेसँगै सो गाडी धनी काँग्रेस नेता दीपक खड्का रहेको खुलेको बुढानीलकण्ड नगरपालिका वडा नम्बर ६ का अध्यक्ष नवीन केसीले जानकारी दिए ।

तर, गाडी पत्ता लागिसकेपछि पनि नेता खड्का सम्पर्कमा नआएको र चालकलाई दोष देखाएर उम्किने प्रयास गरेको उनको भनाइ छ । हाल प्रहरीले घटनामा संलग्न रहेको भन्दै खड्काका चालकलाई पक्राउ गरेको छ । तर, अन्य कानुनी विषय देखाएर खड्का भने सम्पर्कमा नआएपछि जनप्रतिनिधिहरु रुष्ट बनेका छन् ।

उनीहरुले खड्काले नै गाडी चलाउँदा सो घटना भएको तर आफू जोगिन नक्कली चालक खडा गरेको दावी गर्दै आइतबार प्रहरीमा किटानी जाहेरी दिएका छन् । जनप्रतिनिधिले प्रहरीले खड्कालाई कानुनी कारबाही गर्न तदारुकता देखाउनु पर्ने भन्दै तत्काल कानुनी दायरामा नल्याए कडा आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् ।

अहिले मृतकको शव त्रिवि शिक्षण अस्पतालमै रहेको छ । यस विषयमा थप बुझ्न काँग्रेस नेता खड्कालाई सम्पर्क गर्दा सम्पर्कमा आएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?