होटल ‘सोल्टी’बाट बाहिरियो विदेशी लगानी

काठमाडौं । नेपालको पाँचतारे होटल सोल्टीबाट विदेशी लगानी कर्ता बाहिरिएको छ ।

सोल्टीबाट ‘होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेड’ ले आफ्नो १० प्रतिशत शेयर स्वामित्व ४७ करोड २३ लाख ४५ हजार रुपैयाँमा बिक्री गरेर बाहिरिएको हो।

होटलमा रहेको १० प्रतिशत वैदेशिक लगानी फिर्ता भएसँगै अब शतप्रतिशत नेपाली लगानीकर्ताको मात्र स्वामित्व भएको छ । वैदेशिक लगानी फिर्ता लैजान हङकङको उक्त कम्पनीले उद्योग विभागमा धेरै अगाडिदेखि प्रकृया अगाडि बढाइरहेकोमा आइतबार आएर आफ्नो स्वामित्वको शेयर बिक्री गरेको हो ।

उक्त पाँचतारे होटल सोल्टीमा हङकङको उक्त कम्पनीले आफ्नो नाममा रहेको ८४ लाख २५ हजार ७०६ कित्ता संस्थागत शेयर ब्रोकर नम्बर ३४ को ब्रोकर भिजन सेक्युरिटीज मार्फत होटलमा लगानी रहेको नेपालकै अर्को लगानीकर्ता सोल्टी इन्टरप्राइजेजलाई बिक्री गरेको हो ।

सोल्टी इन्टरप्राइजेजले ३३ नम्बर ब्रोकर दक्षिणकाली इन्भेष्टमेन्ट मार्फत खरीद गरेको हो ।

साथै नेप्सेको कारोवार नियामावलीको विनियम १६ अनुसार ‘बल्क ट्रेडिङ्ग’ कारोबार विन्डो मार्फत कारोबार भएको हो ।

आजभन्दा २१ बर्ष अघि वैदेशिक लगानी ऐनमा उल्लेख भए बमोजिम खुला बजारबाटै होलिडे इन्सले सोल्टीको शेयर इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) मार्फत सन् २००० मा खरीद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?