काठमाडौं उपत्यकामा एकैपटक थपिए ८ सय भन्दा धेरै कोरोना संक्रमित, थप पाँच जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एकैपटक थप ८०९ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा थपिएका १ हजार ५७३ जना मध्ये ८०९ जना संक्रमित काठमाडौं उपत्यकाका मात्रै रहेका छन् ।

उपत्यकामा पछिल्लो २४ घण्टामा थपिएका संक्रमितहरु काठमाडौंका ६३३ जना, ललितपुरका १०४ र भक्तपुरका ७२ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको जसमा काठमाडौंका १ महिला र २ पुरुष र ललितपुरका २ पुरुष रहेका छन् ।

यसैबीच बितेको २४ घण्टामा नेपालमा थप १ हजार ५७३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार १२३ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ जनासहित देशभर ५२४ महिला र १ हजार ४९ जना पुरुष संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा थप ८८५ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ । यो कुल संक्रमितको ७३.४ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १९ हजार १९ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १० हजार ६९८ जना र संस्थागत आईसोलेसनमा ८ हजार ३२१ जना छन् । तिमध्ये २२५ जना संक्रमितको आईसियु र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ६ हजार २८१ जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सिरहा, ललितपुर, भक्तपुर,चितवन गरि ७ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला र मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ४७७ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै १० जनाले ज्यान गुमाएका छन् ।

हिजो (शनिवार) नेपालमा १ हजार १४७ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार १४७ जना संक्रमणमुक्त भएका थिए भने ८ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?