मेडिकल कलेजलाई स्वास्थ्य मन्त्रालयले भन्यो- “क्राईटेरिया बाहिरको विद्यार्थीको कोरोना टेष्ट नगराउनू”

काठमाडौं-  प्राईभेट मेडिकल कलेजहरुले विद्यार्थीलाई आरटि पिसिआर परिक्षण गराएर मात्रै परिक्षा दिन पाउने गरी निर्णय गरी नियम बनाएको भन्दै स्वास्थ्य मन्त्रालयले यस्तो किसीमको गतिविधी वैज्ञानिक आधारले पुष्टि नगर्ने भएको कारण लक्षण नभएका कुनैपनि विद्यार्थीहरुलाई आरटी पिसिआर गरेर मात्रै परिक्षामा सहभागी गराउने भन्ने निर्णय कार्यान्वयन नगर्न नगराउन अनुरोध गरेको छ ।

विभिन्न पेशा व्यवसायमा संलग्न कोही पनि व्यक्तिलाई स्वास्थ्य मन्त्रालयले नभनेसम्म वा कन्ट्याक ट्रेसिङमा नपरीकन, फ्रन्टलाईनमा काम गर्ने व्यक्ति, आईसियूमा भर्ना भएका बिरामी, लगायतका क्राईटेरिया निर्धारण गरेको भन्दा बाहिरका मानिसको टेष्ट गराउनु पूर्णत अवैधानिक भएको भन्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो । मन्त्रालयले सबै मेडिकल कलेजलाई यो सूचनामार्फत् जानकारी गराउँदै यसो गरिएमा कोरोना उपचार नियन्त्रण तथा रोकथाममा सहयोग नपुर्याउने बरु हानी गर्ने भएकोले यस्तो नगर्न भनेको हो ।

अब कोरोनाको पोजेटिभ रिपोर्ट आए पनि सम्बन्धितलाई नै खबर गरिदिनू : मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब कोरोना पोजेटिभ आएको खबर सम्बन्धित व्यक्तिलाई नै गर्नका लागि निर्देशन दिएको छ ।

यस अघि विभिन्न प्रयोगशालामा परीक्षणका लागि स्वाब दिएकाहरुको रिपोर्ट पोजेटिभ आएको खण्डमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा वा स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागबाट खबर आउने गर्दथ्यो ।

यदि कोरोनाको रिपोर्ट नेगेटिभ आएको छ भने मात्रै सम्बन्धित व्यक्तिलाई प्रयोगशालाबाट जानकारी गराइन्थ्यो ।

आज पत्रकार सम्मेलनमा जानकारी दिँदै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अब उप्रान्त कुनै पनि स्वाबको रिपोर्ट पोजेटिभ आएमा स्वाब परीक्षण गरिएकै अस्पताल वा प्रयोगशालाले सम्बन्धितलाई नै खबर गरिदिन अनुरोध गरेका हुन् ।

यस अघि स्वास्थ्य संस्थाबाट रिपोर्ट आइसक्दा पनि सम्बन्धित व्यक्तिले निक्कै ढिला गरी खबर पाउँदा संक्रमणको जोखिम बढिरहेको थियो ।

बितेको २४ घण्टाको अपडेट हेर्नुहोस् :
बितेको २४ घण्टामा नेपालमा थप १ हजार ५७३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार १२३ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ जनासहित देशभर ५२४ महिला र १ हजार ४९ जना पुरुष संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा थप ८८५ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ । यो कुल संक्रमितको ७३.४ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १९ हजार १९ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १० हजार ६९८ जना र संस्थागत आईसोलेसनमा ८ हजार ३२१ जना छन् । तिमध्ये २२५ जना संक्रमितको आईसियु र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ६ हजार २८१ जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सिरहा, ललितपुर, भक्तपुर,चितवन गरि ७ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला र मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ४७७ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै १० जनाले ज्यान गुमाएका छन् ।

हिजो (शनिवार) नेपालमा १ हजार १४७ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार १४७ जना संक्रमणमुक्त भएका थिए भने ८ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?