ओली-प्रचण्डबीच भेटघाट, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री एवम नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटघाट भएको छ ।

आइतवार बिहान भएको भेटघाटमा अध्यक्षद्वयबीच मन्त्रिमण्डल पुनर्गठनबारे कुराकानी भएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार केही दिनमा नै मन्त्रिमण्डल पुनर्गठनबारे कुरा टुंगिने गरी छलफल अघि बढेको छ ।

केही समयअघिदेखि अध्यक्षद्वयबीच मन्त्रिमण्डल पुनर्गठन गर्ने सहमति भए पनि मन्त्रालय मिलाउने क्रममा खटपट भएपछि केही ढिलाइ भएको थियो ।

अध्यक्ष दाहालले पूर्वएमाले समूहले अहिले लिएका केही मन्त्रालय पूर्वमाओवादी समूहलाई दिनुपर्ने विषयमा कुराकानी चलाएपछि प्रधानमन्त्री ओली त्यसमा सहमत भएका थिएनन् ।

त्यस्तै अध्यक्ष दाहालले भने सूचना तथा सञ्चार मन्त्रालय पूर्वमाओवादी समूहलाई दिन प्रस्ताव गर्दै आएका छन् । भने मेलम्ची खानेपानी आयोजना नटुंगिएसम्म खानेपानी मन्त्रालय नछोड्ने अडान राख्दै आएका छन् ।

आजको बैठकमा भने मापदण्ड बनाएर जाने विषयमा कुराकानी भएको र छिट्टै पुनर्गठनको काम टुंगिने स्रोतको दावी रहेको छ ।

स्रोतले दिएको जानकारी अनुसार अब हेरफेर गरिने मन्त्रीहरुमा भने नयाँ अनुहारलाई प्राथमिकता दिनेगरि तयारी भइरहेको छ ।

त्यसै विषयमा छलफलका लागि प्रधानमन्त्री ओलीले आज आकस्मिक बैठक डाकेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?