नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट कूल संक्रमितमध्ये नौ लाखभन्दा बढी अझै पनि संक्रमित अवस्थामै रहेका छन् ।
सरकारी अधिकारीहरुले शनिवार दिएको जानकारीअनुसार कूल नौ लाख ६० हजार ९६९ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका हुन् । भारतमा पछिल्लो २४ घण्टामा ८५ हजार ३६२ जना कोरोना भाइरसबाट संक्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कूल ५९ लाखभन्दा बढी संक्रमित भएका छन् ।
भारतमा कोरोनाकै कारणले अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या ९३ हजार ३७९ पुगेको छ । तीमध्ये एक हजार ८९ संक्रमितको पछिल्लो २४ घण्टामा मात्रै मृत्यु भएको हो ।
कोरोना भाइरबाट सङ्क्रमित भएर पनि अहिले संक्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या भारतमा ४८ लाख ४९ हजार ५८५ रहेको छ । प्रदेशअनुसार हेर्दा भारतमा सबैभन्दा बढी महाराष्ट्र प्रदेश प्रभावित भएको छ भने त्यसपछि क्रमशः कर्नाटक, अन्द्र प्रदेश, उत्तर प्रदेश र तमिल नाडु अग्रस्थानमा रहेका छन् ।
भारतको मेडिकल रिसर्च काउन्सिलका अनुसार भारतमा अहिलेसम्म सात करोड दुई लाख ६९ हजार ९७५ जनाको कोरोना परीक्षण गरिएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया