वर्षौदेखिको बत्ती बाल्ने चाहना बल्ल पूरा

दमौली । तनहुँको घिरिङ गाउँपालिका–१ अत्रौलीका नोमनाथ पोखरेललाई घरमा कहिले बिजुली बत्ती बल्ला भन्ने धेरै वर्षौंदेखिको सपना रहेको थियो । वर्षौंदेखि बत्तीको आशमा बसेका पोख्रेलको अनुहारमा अहिले भने छुट्टै उत्साह देखियो, कारण वर्षौदेखिको चाहना अहिले आएर पूरा भएको छ । “बत्ती कहिले बाल्न पाइएला भन्ने लागेको थियो, अहिले त घरमै बत्ती आयो,” पोखरेलले खुशी हुँदै भने, “बत्ती आएपछि त घर नै उज्यालो भएको छ ।”

तनहुँको घिरिङ गाउँपालिकाले उक्त ठाउँमा १०० घरधूरीमा बिजुली विस्तार गरेपछि यहाँका स्थानीयवासी हर्षित छन् । स्थानीयवासी एवं नेपाल कम्युनिष्ट पार्टीका नेता विष्णुभक्त सिग्देलले वर्षौंदेखि बत्तीको आशमा बसेका यहाँका स्थानीयवासी विद्युत विस्तारपछि खुशी भएको जानकारी दिए। “सुखी नेपाली, समृद्ध नेपाल बनाउने अभियानले तीव्रता पाउँदैछ, बिजुली विस्तार पनि त्यसकै एउटा पक्ष हो,” उहाँले भए, “जनप्रतिनिधि निर्वाचित भएर आएपछि गाउँगाउँमा बिजुली विस्तारले तीव्रता पाएको छ ।”

अत्रौलीमा १४० घर रहेपनि १०० घरमा बिजुली बलेको र बाँकी घरमा पनि केही दिनभित्रै बत्ती बल्ने घिरिङ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष होमबहादुर थापाले जानकारी दिए । “बत्ती बल्न बाँकी रहेका घरहरुमा मिटर जडानको काम भइरहेको छ, केही दिनमै बाँकी घरमा पनि बत्ती बल्छ,” उनले भने । उनका अनुसार एक हप्ताको अवधिमा २०० घरमा बिजुली विस्तार भइसकेको छ । यस अगाडि घिरिङ गाउँपालिका–२ काठेकोटका ४२ र माहोरकोटको ५९ घरमा बिजुली विस्तार गरिएको थियो ।

थापाले साविक गजरकोट गाउँ विकास समितिको नेवार हटिया, कटहरे, हात्तीडाँडा, भन्टार, गड्यौली, नयाँटार, जगौलीलगायतका ठाउँमा पनि बत्ती बाल्ने तयारी भइरहेको जानकारी दिए । गाउँपालिकामा अब आठ÷नौ सय घरमा मात्रै बत्ती बल्न बाँकी रहेको र कात्तिकसम्ममा सबै घर उज्यालो बनाइने थापाले जानकारी दिए । गाउँपालिकाले यहाँका ग्रामीण वस्तीमा धमाधम विद्युत् विस्तार कार्यलाई तीव्रता दिइरहेको गाउँपालिकाका अध्यक्ष रनबहादुर थापाले जानकारी दिए। रानाले ‘उज्यालो घिरिङ’ अभियान सम्पन्न हुने क्रममा रहेको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?