बढ्यो जोखिम : काठमाडौंमा एकैपटक थपिए ५८३ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्रै थप ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिवार काठमााडौं उपत्यकामा थपिएका ७२४ जना कोरोना संक्रमित मध्ये ५८३ जना कोरोना संक्रमित काठमाडौं जिल्लाका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

यसैबीच बितेको २४ घण्टामा नेपालमा थप १ हजार २०७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार १९ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जनासहित देशभर ४११ महिला र ७९६० जना पुरुष संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा थप १ हजार १४७ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ५३ हजार १३ पुगेको छ । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ । यो कुल संक्रमितको ७३.८ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १८ हजार ३४१ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १० हजार ५०८ जना र संस्थागत आईसोलेसनमा ७ हजार ८३३ जना छन् । तिमध्ये २२४ जना संक्रमितको आईसियु र २७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ६ हजार ३३१ जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सिरहा, ललितपुर, भक्तपुर,चितवन गरि ७ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला र मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ४६७ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै ८ जनाले ज्यान गुमाएका छन् ।

हिजो (शुक्रवार) नेपालमा १ हजार ३१३ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार ४५५ जना संक्रमणमुक्त भएका थिए भने ६ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?