किन खुस्किदैछ यी २ मन्त्रीको जागिर ?

काठमाडौँ, १० असोज- लोकतान्त्रिक फोरमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देव र भूमिसुधार तथा व्यवस्थामन्त्री डा.गोपाल दहितलाई सरकारबाट फिर्ता बोलाउने भएको छ । कार्यसम्पादन समिति बैठकमा मन्त्रीद्वयले गरेको भूमिका सन्तोषजनक नभएको आवाज उठेपछि पार्टीले उनीहरूलाई दसैँ लगत्तै फिर्ता बोलाउने तयारी गरेको खबर नयाँ पत्रिकामा छ ।बैठकमा अधिकांश नेताहरूले मन्त्री हेरफेर गर्न माग गरेका थिए । त्यसपछि उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष विजयकुमार गच्छदारले मन्त्रीद्वय देव र दहितलाई दसैँलगत्तै फिर्ता बोलाउने जानकारी गराएका थिए ।पार्टी उपाध्यक्ष रामजनम चौधरीले देव र दहितलाई दसैँलगत्तै मन्त्रीबाट फिर्ता बोलाइने बताए ।उनीहरूको काम सन्तोषजनक नभएको र गृहजिल्लामा समेत स्थानीय तह निर्वाचनमा सन्तोषजनक नतिजा ल्याउन नसकेको आरोप देव र दहितमाथि लागेको छ । दुवै मन्त्रीमाथि आर्थिक चलखेल गरेको र पार्टीमा सल्लाह नगरी आफूखुसी निर्णय गरेको आरोप पनि लागेको छ।पर्यटनमन्त्री देवले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई हटाएर नयाँ मान्छेलाई महानिर्देशक बनाउन लागेको खबर प्रकाशित भएपछि पार्टी अध्यक्ष विजयकुमार गच्छदारसमेत असन्तुष्ट रहेका छन् |भूमिसुधारमन्त्री दहितले भूमाफियासँग चर्को रकम असुलेर पार्टीलाई बदनाम गर्ने खालका निर्णय गरेको पार्टी नेताहरूको दाबी छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?