वृद्धा हत्याको अभियोगमा एक पक्राउ

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोलाका ६७ वर्षीया तेजकुमारी ढकालको हत्याको अभियोगमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा भीमसेनथापा गाउँपालिका–१ बसेनीका ४६ वर्षीय शिव गौतम रहेका छन् । उनलाई दमौली बजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

वृद्धाको हत्या भएको अवस्थामा आज बिहान घरभित्रै शव फेला परेको थियो । घटनामा संलग्न रही फरार रहेका गौतमलाई व्यास नगरपालिका–२ स्थित सहिदगेटमा हुलिया परिवर्तन गरी हिडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

ढकालको शव आफ्नै घरभित्र भुइँमा दुवै हात खुट्टा र घाँटीमा कपडाले बाँधी मृत अवस्थामा फेला परेको थियो । उनको शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको छ । शव फेला परेलगत्तै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलको नेतृत्वमा प्रहरी घटनास्थल पुगेको थियो । “घटनास्थलमा कुकुर समेत परिचालित गरी सुक्ष्म रुपमा अनुसन्धान गर्दा हत्यामा संलग्न रही फरार रहेका व्यक्तिलाई दमौली बजारबाट पक्राउ गर्न सफल भएका छौं”, प्रहरी उपरिक्षक पौडेलले भने, “थप अनुसन्धान जारी छ ।”

ढकालको श्रीमान् र बुहारी सोही वडाको स्वाँरामा बस्दै आएका छन् । जेठो छोराको घर पनि नजिकै छ । बिहान ७ बजे ज्वाईले ती वृद्धाको घरको पिढीमा दूध राखेर अन्यत्र दूध पुर्याउन गएका थिए । फर्केर आउँदा पनि पिढीमै दूध देखेपछि उनी घरभित्र पसेका थिए । घरको ढोका खुल्ला अवस्थामा थियो । भित्र हेर्दा वृद्धाको शव भेटिएको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?