५०० जना भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका यी ७ जिल्ला

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १ हजार ३१३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १२ हजार २६२ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार नेपालका ७ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका ७ जिल्ला

  • काठमाडौं
  • भक्तपुर
  • ललितपुर
  • मोरङ
  • सिरहा
  • चितवन
  • रुपन्देही

यस्तै बितेको २४ घण्टामा थप १ हजार ४५५ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ । यो कुल संक्रमितको ७३.४ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १८ हजार २८९ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १० हजार ५२ जना र संस्थागत आईसोलेसनमा ८ हजार २३७ जना छन् । तिमध्ये २२७ जना संक्रमितको आईसियु र ३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ६ हजार ४६४ जना रहेका छन् ।

डाक्टर गौतमका अनुसार सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला र मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ४५९ जनाको मृत्यु भएको छ ।

हिजो (बिहीवार) नेपालमा १ हजार ४९७ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार ४५७ जना संक्रमणमुक्त भएका थिए भने १७ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?