त्रिशुली नदिमा पेट्रोलसहित खसेको ट्यांकर दुर्घटना शंकास्पद, छानबिनका लागि निगमद्वारा पत्राचार

काठमाडौं । त्रिशुली नदीमा खसेर आगो लागेको ट्याङ्कर दुर्घटना थप रहस्यमयी बनेको छ । गत असोज ४ गते आइतवार बिहानको दुई बजे २० हजार लिटर पेट्रोल नदीमा खसेको थियो ।

ट्यांकर दुर्घटना शंकास्पद रहेको भन्दै छानबिन गर्न नेपाल आयल निगमले नेपाल प्रहरीलाई पत्राचार गरेको छ ।

निगमले ट्याङ्करको दुर्घटनास्थल धादिङको गजुरीस्थित इलाका प्रहरी कार्यालयलाई पत्राचार गर्दै आवश्यक कारबाही प्रक्रियाको लागि समेत आग्रह गरेको छ ।

घटना प्रायोजित हुनसक्ने प्रहरीको आशंका रहेको छ ।

पछिल्लो समय डिपोहरुले मिसावटमा कडाई गर्न थालेका छन् । त्यसै कारणले गर्दा ट्याङ्करलाई दुर्घटनामा पारी त्रुटि छुपाउनको लागि उक्त घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

प्रहरीका अनुसार थानकोट डिपोमा ट्यांकर नआईपुग्दै उक्त ट्यांकरमा मिसावट बारेको अपुष्ट सूचना प्राप्त भएको थियो ।

ट्याङ्कर नदीमा खस्दा २१ लाख रुपैयाँ पर्ने पेट्रोल नष्ट भएको छ। चालकसहित ट्यांकरमा सवार सहचालक मनिष नगरकोटी दुर्घटनामा सुरक्षित रहेका छन् ।

उनीहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?