कोरोना कहरकैबीच चलचित्र ‘शिरफूल’ दर्शकमाझ आउँदै, यसरी हेर्नुहोस् डिशहोमबाट

काठमाडौं । देश विदेश एकसाथ प्रदर्शन गर्ने तयारी गरिएको नेपाली कथानक चलचित्र ‘शिरफूल’ कोरोना महामारीकैबीच दर्शकमाझ आउँदै छ ।

कोरोनाको विश्व महामारीले सबै क्षेत्र प्रभावित भइरहेका बेला ‘शिरफूल’ निर्माण युनिट वैकल्पिक माध्यमबाट चलचित्र प्रदर्शन गर्ने निधोमा पुगेको हो । यही असोज १६ गते डिसहोम सिनेमा घर च्यानल नम्बर १०८ मार्फत ‘शिरफूल’ प्रदर्शन हुँदैछ । सिधै डिसहोम सिनेमा घर, च्यानल नम्बर १०८ मा दैनिक ८ वटा ‘शो’ हेर्न सकिनेछ । विहान १, ४, ७ र १० बजे हेर्न सकिनेछ भने दिउँसो १, ४ र बेलुकी ७ तथा राती १० बजे शो राखिएको छ ।

नाइस मिडिया नेटवर्क प्रालिको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘शिरफूल’को निर्देशन कमल एक्चै मगरले गरेका छन् । ‘शिरफूल’मा आधुनिकताको बढ्दो प्रभावलाई मुख्य विषयवस्तु बनाइएको छ । र, ‘शिरफूल’ नारी प्रधान चलचित्र हो । यो चलचित्रले युवा पुस्तामा देखिएको पश्चिमा संस्कृतिको प्रभावलाई चित्रण गर्ने प्रयत्न गरेको छ । प्रेम, कला र संस्कारलाई फेसनका रुपमा लिने चलनको बढ्दै गएको परिप्रेक्ष्यमा ‘शिरफूल’ले विषयवस्तुलाई गहन ढंगले उठान गरेको छ । यो चलचित्रमा अभिनेत्री रुपा राना बाहेक अधिकांश थिएटरकै कलाकार छन् । ‘शिरफूल’मा विनिता मगर, राज थापा, रुपा राना, देव आले मगर, पूजा गदाल, नीता पुन, नमिता तामाङ, विना थापा, लिला गुरुङ, राजु योगिन, सुनिल मगरल, मरिश्का पोख्रेल गायतको मुख्य अभिनय रहेको छ भने हरि लम्सालको संगीत, डिपी खानाल र सन्दीप थापाको गीत रहेको छ ।

सिद्धान्त एस पौडेलको निर्माण नियन्त्रण रहेको ‘शिरफूल’लाई निरोज श्रेष्ठले खिचेका हुन् ।

‘शिरफूल’ निर्देशक कमलको देखि कलाकारसम्म डेब्यु गर्दैछन् । ‘शिरफूल’ कमलको निर्देशन डेब्यु चलचित्र हो भने यो चलचित्रमार्फत चर्चित लोकगायिका नीता पुन र गायक देव आले मगरले समेत अभिनयमा डेब्यु गरेका छन् । यसअर्थ ‘शिरफूल’ले नेपाली चलचित्र नगरीमा नयाँ कलाकार उतारेको छ । ‘शिरफूल’को छायांकन काठमाडौंसहित तनहुँ, पोखरा र सोलुखुम्बुको विभिन्न स्थानमा गरिएको छ । कोरोना संक्रमणको जोखिमकाबीच सुरक्षित ढंगले घरमै बस्नुहोस् र नेपाली चलचित्र ‘शिरफूल’ हेर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?