काठमाडौं, भक्तपुर र ललितपुरसहित यी ७ जिल्लामा छन् ५०० भन्दा बढी उपचाररत कोरोना संक्रमित

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १ हजार ४९७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ११ हजार ४४९ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार नेपालका ७ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका ७ जिल्ला

  • काठमाडौं
  • भक्तपुर
  • ललितपुर
  • मोरङ
  • चितवन
  • सिरहा
  • रुपन्देही

यस्तै बितेको २४ घण्टामा थप ४५७ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ५० हजार ४११ पुगेको छ । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ । यो कुल संक्रमितको ७२.७ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १८ हजार ४३७ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ९ हजार ८२३ जना र संस्थागत आईसोलेसनमा ८ हजार ६१४ जना छन् । तिमध्ये २३२ जना संक्रमितको आईसियु र २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ६ हजार ५६५ जना रहेका छन् । डाक्टर गौतमका अनुसार सोलुखुम्बु, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला र मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ४५३ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै १७ जनाले ज्यान गुमाएका छन् ।

हिजो (बुधवार) नेपालमा १ हजार १७२ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार ८२३ जना संक्रमणमुक्त भएका थिए भने ७ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?