के नेपालमा फेरि लकडाउन हुँदैछ ?

काठमाडौं – देशमा सक्रिय संक्रमित (Active case) को संख्या २५ हजार पुगे फेरि लकडाउन (बन्दाबन्दी) हुने भएको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव संयोजक रहेको इन्सिडेन्ट कमान्ड सिस्टम आईसीएस को आज बुधबार बसेको बैठकले २५ हजार सक्रिय संक्रमित पुगे लकडाउन (बन्दाबन्दी) गर्न सिफारिस गर्ने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको छ ।

यस्तो छ, पछिल्लो २४ घण्टाको अपडेट : 

बितेको २४ घण्टामा नेपालमा थप १ हजार १७२ जनामा कोरोना भाइरस ‘कोभिड- १९’ संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ९ हजार ४४९ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जनासहित देशभर ४२६ महिला र ७४६ जना पुरुष संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा थप १ हजार ८९३ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ । यो कुल संक्रमितको ७३.७ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १७ हजार ४१४ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ९ हजार १८६ जना र संस्थागत आईसोलेसनमा ८ हजार २२८ जना छन् । तिमध्ये २२० जना संक्रमितको आईसियु र ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ७ हजार १०४ जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सिरहा, ललितपुर, भक्तपुर,चितवन गरि ७ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार सोलुखुम्बु, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला र मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ४३६ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै ७ जनाले ज्यान गुमाएका छन् ।

हिजो (मंगलवार) नेपालमा १ हजार ३५६ जनामा संक्रमण पुष्टि भएको थियो । ८२३ जना संक्रमणमुक्त भएका थिए भने २ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?