अनसनरत डा केसीको उपचारको लागि आठ सदस्यीय चिकित्सक टोली गठन

काठमाडौं । अनसनरत डा गोविन्द केसीको स्वास्थ्य उपचारका लागि सरकारले आठ सदस्यीय चिकित्सक टोली गठन गरेको छ ।

उनको राष्ट्रिय ट्रमा सेन्टरमा राखेर उपचार गर्न डा रेवतीरमण मल्लको संयोजकत्वमा आठ सदस्यीय टोली गठन गरिएको सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा सन्तोष पौडेलले जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कार्यकारी परिषद्ले सोमबार जुम्ला हुँदै नेपालगञ्जबाट ल्याइएका डा केसीको स्वास्थ्य उपचार गर्नका लागि आज टोली गठन गरेको हो । टोलीमा डा मुकेश शर्मा पौडेल, डा अनन्तभक्त उप्रेती, डा अनिल बराल, डा जितेन्द्रकाजी श्रेष्ठ, डा सुजिता मानन्धर, डा घनश्याम थापा र डा हरिहर खनाल रहेका छन्

उपचारका लागि डा केसी वीर अस्पतालमा आएपनि कोभिड १९ को डेडिकेटेड अस्पतालका रुपमा वीरलाई अहिले रुपान्तरण गरेपछि सेन्टरमा उनको उपचारका लागि ल्याइएको छ । उनको उपचार गर्न गठित चिकित्सकको टोलीले स्वास्थ्य उपचार गर्न खोज्दा नमानेको सेन्टरका डा पौडेलले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?