चट्याङ लागेर मृत्यु भएका परिवारलाई दुई लाख सहयोग

काठमाडौं । लमजुङमा चट्याङबाट मृत्यु भएका बेँसीशहर नगरपालिका–६ पुमागाउँका ४२ वर्षीय सन्त विकको परिवारलाई राहतस्वरुप रु दुई लाख प्रदान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति लमजुङले राहतस्वरुप रु दुई लाख मृतकका परिवारलाई आज सहयोग उपलब्ध गराएको हो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले मृतक विकको आमा जुठी विकलाई रु दुई लाख हस्तान्तरण गरे ।

नेपाल सरकारको नियमानुसार उक्त रकम परिवारलाई मृतक सन्तको काजकिरियाका लागि सहयोग पुग्ने प्रजिअ शर्माले विश्वास व्यक्त गरे । परिवार गुमाउँदा ठूलो चोट पुगे पनि सरकारको राहतले आलो घाउमा मलम लगाउने प्रयास गरेको छ । उक्त समितिले मृतक परिवारलाई मृत्यु भएको २४ घण्टा नपुग्दै उक्त राहत वितरण गरेको छ । मृतक छोरा बुहारी र नातिको काजकिरिया गर्नका लागि केही सहयोग पुग्ने उनको भनाइ छ ।

उक्त समितिले मृत्यु भएको केही घण्टामा नै मृतकका परिवारलाई राहत उपलब्ध गराएको छ । रकम हस्तान्तरण कार्यक्रममा सोही वडाका वडाध्यक्ष भोजबहादुर रिमाल, आफन्त तथा स्थानीयवासीको सहभागिता रहेको थियो । सोमबार साँझ चट्याङबाट घाइते भई जिल्ला सामुदायिक अस्पतालमा उपचारका क्रममा मृतक विकको राति नै मृत्यु भएको थियो ।

मृतकको शवपरीक्षण गरी आज दाहसंस्कार गरिएको छ । मृतक विकको आमा, श्रीमती, एक छोरा र दुई छोरी छन् । त्यस्तै सोही चट्याङबाट सोही गाउँकी २२ वर्षीय घाइते चिजा गुरुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारपछि आज दिउँसो डिस्चार्ज भएकी छिन् । घाइते गुरुङ करीब २२ घण्टाको उपचारपश्चात् निको भएर घर फर्कीएकी हुन् । घाइते गुरुङको उपचार खर्च उक्त समितिले व्यहोर्ने प्रजिअ शर्माले बताए ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?