राप्रपा बैठक : एकता महाधिवेशन आगामी बैशाख २५ बाट शुरु, के के भयो अन्य निर्णयहरु ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन आगामी वर्षको बैशाख २५ देखि २८ सम्म काठमाडौंमा हुने भएको छ ।

मंगलवार (आज) पार्टी अध्यक्ष पशुपती शम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले त्यसका साथसाथै अन्य निर्णयहरु गरेको छ ।

त्यस्तै आजको बैठकले पार्टीको चुनाव चिन्ह हलो र “गाई” अंकित रातो, पहेँलो र निलो रंगको झण्डा एकिकृत पार्टीको झण्डा हुने निर्णय गरेको छ ।

उक्त बैठकमा अध्यक्षद्वय कमल थापा, डा प्रकाशचन्द्र लोहनी एवं पार्टीका बरिष्ठ नेतागणको उपस्थिति रहेको केन्द्रीय सचिवालयका प्रमुख भास्कर भद्राले जानकारी दिए ।

यस्तो छ आजको बैठकले गरेका अन्य निर्णयहरु :

१. पार्टी एकिकरण सम्बन्धमा : मिति २०७६/११/२४ को एकिकरण सम्बन्धि आधार पत्र बमोजिम राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच भएको एकिकरण निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरियो ।

२. पार्टीको अन्तरिम विधान सम्बन्धमा : राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच भएको मिति २०७६/११/२४ को एकिकरण सम्बन्धि आधार पत्र बमोजिम पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी राख्ने तथा साविक राप्रपाको विधान एकिकृत पार्टीको अन्तरिम विधान हुने सहमति भएको हुँदा तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता गर्दाको बखत पेश भएको विधान र प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन २०७४ मा पेश भएको राजनैतिक घोषणा पत्रलाई एकिकरण पश्चातको राष्ट्रिय प्रजातन्त्र पार्टीको अन्तरिम विधान र घोषणापत्र कायम गरी त्यसको जानकारी निर्वाचन आयोगमा पठाउने निर्णय गरियो ।

३. पार्टीको नियमावली, घोषणापत्र, झण्डा र छाप (लोगो) सम्बन्धमा ः राष्ट्रिय प्रजातन्त्र पार्टी संचालनार्थ तयार गरिएको नियमावली, घोषणापत्र र लोगो (छाप) लाई यसै वैठकले अनुमोदन गर्दै निर्वाचन आयोगमा पठाउने निर्णय गरियो । साथै पार्टी अन्तरिम विधान, नियमावली र घोषणापत्रमा उल्लेखित कुनै वुँदाहरु बाझिएमा पार्टी एकिकरण सम्बन्धि आधारपत्र अनुसार नै हुने निर्णय गरियो ।

४. पार्टीको झण्डा र चुनाव चिन्ह सम्बन्धमा ।

क) साविक राष्ट्रिय प्रजातन्त्र पार्टीको “गाई” अंकित रातो, पहेँलो र निलो रंगको झण्डा एकिकृत पार्टीको झण्डा हुनेछ ।
ख) पार्टीको चुनाव चिन्ह हलो कायम गर्ने निर्णय गरियो ।

५. महाधिबेशन सम्बन्धमा : राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिबेशन २०७८ बैशाख २५ देखि २८ सम्म काठमाण्डौमा गरिनेछ । स्थानीय तहको निर्वाचन नजिकिँदै गएको सन्दर्भलाई दृष्टिगत गर्दै उल्लेखित मितिमा महाधिबेशन अनिवार्य रुपले सम्पन्न गरिनेछ ।

६.अख्तियारी दिने सम्बन्धमा : श्री निर्वाचन आयोगमा गई राष्ट्रिय प्रजातन्त्र पार्टी दर्ता सम्बन्धि सम्पूर्ण काम कारवाही गरि दल दर्ता गरी ल्याउनको लागि नेता श्री दिपक बोहोरा, बरिष्ठ अधिवक्ता एवं केन्द्रीय सदस्य राजु बस्नेत, केन्द्रीय सदस्य श्री धुव्र बहादुर प्रधान, केन्द्रीय सदस्य रामशरण पाठकलाई अख्तियारी प्रदान गर्ने निर्णय गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?