भक्तपुरका ६३ जनालाई कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा भक्तपुर जिल्लामा कोरोना भाइरसका थप ६३ जना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार मंगलवार भक्तपुर उपत्यकामा थपिएका ६४७ जना कोरोना संक्रमित मध्ये ६३ जना कोरोना संक्रमित भक्तपुर जिल्लाका रहेका छन् ।

यसैबीच बितेको २४ घण्टामा नेपालमा थप १ हजार ३५६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ११ हजार १५४ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा थप ८२३ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ४८ हजार ६१ पुगेको छ । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ । यो कुल संक्रमितको ७२ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १८ हजार १४२ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ८ हजार ९४९ जना र संस्थागत आईसोलेसनमा ९ हजार १९३ जना छन् । तिमध्ये २२३ जना संक्रमितको आईसियु र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ७ हजार १७१ जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सिरहा, मकवानपुर, ललितपुर, भक्तपुर,चितवन गरि ८ वटा जिल्लामा ५ सय बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार सोलुखुम्बु, म्याग्दी, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला, मुगु र ताप्लेजुङ जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ४२७ जनाको मृत्यु भएको छ ।

हिजो (सोमवार) नेपालमा १ हजार १५४ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार ५ जना संक्रमणमुक्त भएका थिए भने १६ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?