शिक्षण अस्पताल जान लागेका डा. केसीलाई प्रहरीले नियन्त्रणमा लिई ट्रमा सेन्टर पुर्‍यायो

काठमाडौं । चिकित्सा क्षेत्रको सुधारको माग राख्दै जुम्लामा अनसन बसेका डा गोविन्द केसीलाई आज काठमाडौं ल्याइएको छ । डा केसीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ट्रमा सेन्टर लगेको हो ।

नेपालगन्जबाट बुद्ध एयरको विमानबाट काठमाडौं आएका डाक्टर केसीलाई विमानस्थलबाटै प्रहरीले जबरजस्ती ट्रमा सेन्टर लगेको उनका निकट स्रोतले जानकारी दिएको छ ।

उनी आफैं एम्बुलेन्समा बसेर शिक्षण अस्पताल जान लाग्दा प्रहरीले उनलाई नियन्त्रणमा लिई ट्रमा सेन्टरको आकस्मिक कक्षमा लिएर गएका हुन् ।

जनताको सेवा गर्नका लागि जुम्ला पुगेका डा केसीले गत भदौ २९ गतेबाट जुम्लामा आफ्नो १९ औँ अनसन शुरु गरेका थिए ।

उनको स्वास्थ्यमा समस्या आएसँगै उनलाई सोमवार जुम्लाबाट काठमाडौं ल्याउने तयारी गरि आज काठमाडौं ल्याइएको हो । तर उनले काठमाडौं आएपनि अनसन नछाड्ने भएको उनी निकट स्रोतले जनाएको छ ।

यसअघि डा केसीले विभिन्न मागहरुसहित १५ औँ अनसन जुम्लामा नै गरेका थिए ।

भिडियो : नवीन उत्सवको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?