कसले सुनिदिने पर्यटन मजदुरको पीडा ? ‘अति भएको’ भन्दै दिए चेतावनी !

काठमाडौं – ‘कोभिड – १९’ का कारण रोजगारी गुमाएका पर्यटन मजदुरहरुले तत्काल राहत उपलब्ध नगराए आन्दोलन गर्ने बताएका छन् ।

पर्यटन सेवा समाज नेपाल र पर्यटन मजदुर संघर्ष समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी केही दिन भित्रमा पर्यटन मजदुरका लागि राहत उपलब्ध नगराए कडा आन्दोलन गर्ने बताएको हो ।

संघर्ष समितिका संयोजक प्रकाश घायल राईले लकडाउनका कारण लामो समय देखि श्रम गर्न नपाउँदा भौकै मर्ने स्थिति आएकाले सरकारसँग सहयोग मागेको तर अहिले सम्म सुनुवाई नभएकाले आन्दोलन गर्नुपर्ने स्थितिमा आफुहरु पुगेको बताए ।

उनले तत्काल ‘मजदुर कल्याणकारी कोष’को रकमबाट आफुहरुलाई राहत दिनुपर्ने माग समेत गरे ।

धेरैपटक पर्यटन बोर्ड, पर्यटन विभाग र टानसँग आफ्ना समस्या राख्दा समेत सुनुवाई नभएको उनको भनाई छ ।

आफूहरुले ५ वर्ष यता मजदुर कल्याणकारी कोषमा जम्मा गर्दै आएको रकम १५ करोड रुपैयाँ पुगेको तर त्यही रकम मजदुरको हितमा खर्च गर्न समेत सरकारी निकायहरुले नमानेको उनको भनाई छ ।

आफैँले जम्मा गरेको रकम ऋणको रुपमा समेत पाउन नसक्दा मजदुरहरु समस्यामा परेको उनको गुनासो छ ।

सरकारबाट लाइसेन्स प्राप्त २५ हजार मजदुरहरु अहिले समस्यामा परेकोले तत्काल राहत दिन माग गरे। अबको केही दिन भित्रमा राहत नपाए सबै मजदुर सडकमा उत्रने स्थिति आउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?