दशैँ : खाद्य संस्थानले कति ल्याउँदैछ खसी बोका र च्याङ्ग्रा ? सुपथ मूल्य पसल सञ्चालन होला ?

काठमाडौं – खाद्य व्यवस्था तथा ब्यापार संस्थानले दशैलाई लक्षित गर्दै यो वर्ष ३ हजार खसी र च्याङ्ग्रा खरिद गर्ने भएको छ ।

हरेक वर्ष खसी बोका किनेर सर्वसुलभ रुपमा विक्रि गर्दै आएको संस्थानले यो वर्ष ३ हजार खसी/बोका र च्याङ्ग्रा खरिद गर्ने भएको हो ।

संस्थानले १४ सय च्याङ्ग्रा र १६ सय खसी÷बोका खरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडका योजना विभाग प्रमुख सर्मिला सुवेदीले बताईन् ।

कति संख्यामा खरिद गर्ने भन्ने एकिन भएपनि कुन ठाउँबाट किनेर ल्याउने भन्ने विषयमा गृहकार्य भइरहेको उनको भनाई छ ।

संस्थानले विगत वर्षहरु जस्तै यो वर्षपनि चामल, दाल, तेल जस्ता खाद्यवस्तु पनि बिक्रि गर्ने भएको छ । यस्तै सहुलियत मूल्य पसल पनि सञ्चालन गर्ने उनले बताईन् ।

एकिकृत रुपमा र आफ्नै आउटलेटबाट सुपथ मूल्यमा बढी भन्दा बढी स्थानमा सुपथ मुल्य सपल सञ्चालन गरिने उनको भनाई छ ।

संस्थानले हरेक वर्ष दशैं, तिहार र छठलाई मध्यनजर गर्दै सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले विगत वर्षहरुमा दाङ, तुलसीपुर, हेटौंडा र नेपालगञ्ज लगायतका स्थानबाट खसी बोका ल्याउने गरेको छ ।

च्याङ्ग्रा भने मुस्ताङबाट ल्याउने गरेको छ । यस पटक खाद्यले खसी बोका खरिदका लागि अनुमानित ५ करोड ९९ लाख ८६ हजार रुपैयाँ बजेट छुट्याएको छ ।

गत वर्ष सोही परिमाणको खसी/बोका तथा च्याङ्ग्राका लागि कम्पनीले कुल ५ करोड ९८ लाख ८२ हजार रुपैयाँ बजेट छुट्याएको थियो । जसमा कम्पनीले १४ सय वटा खसी/बोका र १६ सय वटा च्याङ्ग्रा ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?