रोजगारी खोज्ने विद्यार्थीका लागि सेमेष्टर नलम्ब्याइने

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयले रोजगारीमा रहेका विद्यार्थीहरुका लागि सेमेष्टर प्रणाली नलम्ब्याउने निर्णय गरेको छ । विश्वविद्यालयले तत्काल रोजगारीको खोजी गर्न जाने विद्यार्थीहरुलाई मध्यनजर गर्दै उक्त निर्णय गरेको हो ।

विश्वविद्यालय अन्तर्गत सातौं सेमेष्टरको अन्तिम परीक्षा असोज १६ गतेदेखि कात्तिक ६ गतेसम्मका लागि तोकिएको छ ।

त्यस्तै विश्वविद्यालयको आठौं सेमेष्टर मंसिर महिनाभित्रै सक्ने निर्णय यसअघि नै गरिसकेको छ । तर,
आठौं सेमेष्टरको पाठ्यक्रममा प्रोजेक्ट वर्क र तीन महिने इन्टर्नसिपसमेत रहेपनि मंसिरमा नै सक्ने निर्णय गरेको हो ।

कोरोना कहरका कारण रोकिएको परीक्षाहरु एकाएक सञ्चालन गर्न लागिएकाले विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ लगायत अन्य संकायका विद्यार्थीहरुका लागि असर पर्ने देखिन्छ ।

तर विश्वविद्यायलको परीक्षा व्यवस्थापन कार्यालय प्रमुख आनन्द प्रसाद सुवेदीले एक विज्ञप्ति जारी गर्दै एक महिनामै सेमेष्टर सक्ने योजना नबनाइएको बताएका छन् ।

‘यसभन्दा अगाडि नै विद्यार्थीको सेमेष्टर अपग्रेड गरिसकेको र स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरी तत्काल रोजगारीको खोजी गर्न बजारमा जाने विद्यार्थीहरुको लागि सेमेष्टर नलम्बाई निर्धारित शैक्षिक वर्षभित्र परीक्षा सन्चालन गर्न मप विश्वविद्यालयको मिति २०७७ भाद्र २५ गतेको निर्णयअनुसार २०२० डिसेम्बरभित्र विद्यार्थीको परीक्षा सम्पन्न गरिसक्नुपर्ने भएकोले उक्त सूचना जारी गरिएको हो ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?