भारतमा एकैदिनमा संक्रमणमुक्त हुनेको संख्या अहिलेसम्मकै धेरै

नयाँदिल्ली । भारतमा एकैदिनमा कोरोना भाइरसबाट संक्रमणमुक्त भएकाहरुको संख्या अहिलेसम्मकै धेरै देखिएको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो तीन दिनमा प्रत्येक दिन औसतमा ९० हजार जनाका दरले विरामीहरु संक्रमणमुक्त भएका छन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो तीन दिनमा संक्रमणमुक्त भएकाहरुको सङ्ख्या अत्यधिक धेरै रहेकाले सन्तोषजनक अवस्था रहेको मङ्गलबार जानकारी दिएको छ ।

मन्त्रालयले कुल संक्रमितमध्ये झण्डै ८० प्रतिशत मानिसहरु संक्रमणमुक्त भएको पनि जनाएको छ ।

मन्त्रालयको सामाजिक सञ्जालको आधिकारीक पेजमा लेखिएको छ, “भारतमा सङ्क्रमणमुक्त भएकाहरुको दैनिक संख्या उच्च हुँदै गएको छ, यो संख्या र अनुपात विश्वमै सबैभन्दा धेरै हो ।”

भारतमा सोमबारसम्ममा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको कुल संख्या ५४ लाख ८७ हजार ५८१ पुगेको मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितमध्ये दश लाख तीन हजार २९९ जना अझै पनि सक्रिय संक्रमित अवस्थामै रहेका छन् भने अरु ४३ लाख ९६ हजार ३९९ जना संक्रमणमुक्त भएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?