७० घरपरिवारलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग

गण्डकी । नेलम्बो नेपालले माछापुच्छ्रे गाउँपालिका–७ धम्पुसस्थित ढाँडावासीका ७० घरपरिवारलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।

संस्थाले ११ वटा डस्टबिन, प्रतिघर एउटा हातधुने साबुन र कुल ३३० व्यक्तिलाई पुनःप्रयोग गर्न मिल्ने एन–९५ मास्क तथा स्वास्थ्य सचेतनामूलक ब्रोसर स्थानीय सिर्जना सांस्कृतिक परिवारलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । संस्थाका तर्फबाट कुल ५६ हजार रुपैयाँ बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको जनसम्पर्क सुपरभाइजर भीमप्रसाद भण्डारीले जानकारी दिए ।

कार्यक्रममा नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले कोभिड–१९ को महामारीमा सबै जना एकजुट भएर लाग्नुपर्ने भन्दै सबैले सामाजिक दूरीलाई ख्याल गर्नुपर्ने आवश्यकता औँल्याए । अनिवार्य मास्क लगाउन, साबुनपानीले मिचीमिची हात धुन वा स्यानिटाइजर लगाउन आग्रह गर्दै उनले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रम संयोजक डा किसन कोइराला, सिर्जना सांस्कृतिक परिवारका अध्यक्ष रामचन्द्र भण्डारी, देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद भण्डारी, जनप्रतिनिधि कृष्णप्रसाद भण्डारीलगायतले उपलब्ध सामग्रीको सदुपयोग गर्न आग्रह गरे ।

बाढीपहिरोपीडितलाई आर्थिक सहयोग

सर्वोच्च नेता गणेशमान सिंहको २३ औँ स्मृति दिवसको अवसरमा तरुण दल कास्कीले शुरु गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सोमवार बाढीपहिरोपीडितलाई आर्थिक सहयोग गरिएको छ ।

तरुण दल कास्कीले कास्की क्षेत्र नं ३ अन्तर्गत अन्नपूर्ण गाउँपालिका–१ का विष्णु परियार, वडा नं २ का ऋषिराम अधिकारी, रामजी भण्डारी र राजाराम भण्डारीलाई जनही पाँच÷पाँच हजार रुपैयाँका दरले सहयोग गरेको हो । सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस कास्कीका उपसभापति आइबहादुर गुरुङले लौहपुरुष गणेशमान सिंहको सम्झना गर्दै तरुणहरू पनि उनले देखाएको बाटोमा हिँड्न सक्नुपर्ने बताए ।

तरुण दलले गरेको कामको प्रशंसा गर्दै उनले आगामी दिनमा पनि यस्तै सामाजिक कार्यमा जागरुक हुन सक्नुपर्ने उल्लेख गरे। तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले पार्टीलाई सशक्त बनाउन युवा तरुणको महत्वपूर्ण भूमिका आवश्यक रहेको बताए । लौहपुरुषको सम्झनामा तरुण दल सुखमा मात्र नभई दुःखमा पनि साथमै छ भन्ने सन्देश दिन आफूहरुले थोरै भए पनि आर्थिक सहयोग गरेको उनले बताए । सप्ताहव्यापी कार्यक्रम भएकाले आगामी दिनमा कास्कीको अन्य स्थानमा पनि आर्थिक सहयोग गर्ने योजना रहेको उनको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?