व्यवसायीको ‘सर्पोट’मा बोले बाबुराम भट्टराई, सरकारलाई प्रश्न – किन कानमा तेल हालेर बसेको ?

काठमाडौं । अंग्रेजी वर्ष २०१९ को डिसेम्बर अन्तिम साताबाट चीनको हुबेई प्रान्तको वुहान शहरबाट फैलिएको कोरोना भाइरस ‘कोभिड – १९’ का कारण विश्व आक्रान्त छ । नेपाल पनि यसबाट अछुतो हुन सकेको छैन । लामो समयको लकडाउन र निषेधाज्ञाका कारण सबै क्षेत्र चौपट बनेको छ । यसैबीच नेपाल ल्याउन लागिएका सरसामान बोकेका कन्टेनर नेपाल चीनको सीमामा ६ महिनादेखि थन्किएको प्रसंगमा बोल्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ति सामान भित्र्याउन पहल नगरेको भन्दै सरकारप्रति कटाक्ष गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै डाक्टर भट्टराईले चीनबाट आयात गरिएका २० अर्ब बढी मूल्यका सामान ६ महिनादेखि सीमामै रोकिँदा सामान बिग्रिने र नेपाली व्यवसायीहरुले नोक्सानी व्यहोर्नुपर्ने विषम परिस्थितीमा सरकारले कुनै विकल्प नसोचेकोप्रति कटाक्ष गर्दै किन कानमा तेल हालेर बसेको भन्दै प्रश्न गरेका हुन् ।

उनले लेखेका छन् –  ‘छिमेकी चीनबाट आयात हुन लागेका बीस अर्ब बढी मूल्यका सामान सहितका कन्टेनर ६ महिना बढी समयदेखि सीमानामा अलपत्र भएर बसेकाले नेपाली व्यवसायीहरूलाई आसन्न चाडबाडको मुखमा ठूलो असुविधा र नोक्सान भैरहेको छ । व्यवसायीहरू हारगुहार गर्दै यत्रतत्र कुदिरहेछन् । सरकार किन कानमा तेल हालेर बसेको हो  ?’

 

चीनले केरुङ र तातोपानी नाका बन्द गरेपछि बालबालिकालाई दिइने बीसीजी खोपमा प्रयोग हुने ११ लाख थान ‘अटो डिस्पोजेबल’ सिरिन्ज बोकेको कन्टेनरसमेत रोकिएको छ । अलपत्र परेका कन्टेनरमा कोभिड–१९ संक्रमण नियन्त्रण र उपचारका लागि खरिद गरिएका पीसीआर मेसिन, भीटीएम, किट, पीपीई, मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री लगायतका समान पनि छन् ।

चीनसँगको मुख्य व्यापारिक नाका तातोपानी र रसुवागढी कोरोना पछि बन्द छन् । रसुवागढी भन्सारमा कार्यरत एक नेपाली मजदुरलाई कोरोना संक्रमण देखिएपछि चीनले नाका बन्द गरेको थियो ।  यस्तै तातोपानी नाकाभन्दा करिब ३५ किलोमिटर माथि चीनतर्फ पर्ने ताल बिष्फोटको जोखिम रहेको भन्दै चिनियाँ पक्षले सो नाका पनि बन्द गरेको छ ।

भूकम्पपछिदेखि नै नेपाली व्यवसायीलाई चिनियाँ भूभागको खासा र केरुङ जान दिइएको छैन । व्यवसायीका अनुसार केरुङमा १२ सयभन्दा बढी र तातोपानी नाकाको खासामा डेढ सय कन्टेनर सामान अलपत्र छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?