बिमा गराएर धोका, कोरोनाका बिमितले पाएनन् भुक्तानी

करिब डेढ महिनाअघि कोरोनाबाट संक्रमित भएको प्रमाणित भएपछि चार्टर्ड एकाउन्टेन्ट प्रवेश आचार्यले बिमा दाबीका लागि आफूले बिमा गरेको कम्पनीमा आवेदन दिए । आवेदन दिएको ३५ दिन भयो । तर उनले दाबी भुक्तानी पाएका छैनन् ।
आजको कान्तिपुर दैनिक लेख्छ- बिमा कम्पनीले मागेको सबै कागजात पेस गरेका आचार्यले कोरोना परीक्षण पनि सरकारी अस्पतालमै गराएका हुन् ।
झन्डै एक महिनाअघि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि प्रभा पन्थीले पनि दाबी भुक्तानीका लागि बिमा कम्पनीमा आवेदन दिइन् । अहिले उनी पूर्ण रूपमा निको भइसकेकी छन् । तर बिमा दाबी भुक्तानी पाएकी छैनन् ।
आवश्यक सबै कागजात पुगे पनि लामो समयसम्म दाबी भुक्तानी नपाएका दर्जनभन्दा बढी बिमितसँगको कुराकानीमा यस्तो रहस्य बाहिर आएको हो । कोरोना बिमा मापदण्ड– ०७७ मा आवश्यक कागजात पुगेका बिमितले बढीमा सात दिनभित्र भुक्तानी पाइसक्नुपर्ने प्रावधान छ । तर अनेक बहानामा बिमा कम्पनीहरूले भुक्तानी दिन आनाकानी गरेका छन् ।

केही बिमा कम्पनीले बिरामी (बिमित) निको भएको रिपोर्ट (नेगेटिभ रिपोर्ट) चाहियो भनेर पनि दाबी भुक्तानी रोकेका छन् । जब कि बिमा दाबीमा चाहिने कोरोना पोजिटिभ रिपोर्ट हो । नेगेटिभ रिपोर्ट चाहिने व्यवस्था मापदण्डमा छैन । यसकारण अनेक बहाना झिकेर कम्पनीले दाबी भुक्तानी नदिएको जानकारहरू बताउँछन् ।कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?