ई–पासपोर्टको टेन्डर फेरि भयो रद्ध

एक वर्षको अन्तरमा दोस्रो पटक विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाइको अन्तर्राष्ट्रिय बोलपत्र सोमबार विधिवत् रद्द भएको छ ।
राहदानी विभागका महानिर्देशक रामकाजी खड्काका अनुसार गत बिहीबार (सेप्टेम्बर १७) को राहदानी विभागको अन्तिम निर्णयअनुसार बोलपत्र रद्द भएको हो ।

बोलपत्रमा सहभागी चारवटा अन्तर्राष्ट्रिय कम्पनीका केही कागजात अपूरो देखिएको र प्रक्रियागत कमजोरी देखिएकाले प्रस्तावको प्राविधिक मूल्यांकन समितिले दिएको सिफारिसअनुसार अन्तर्राट्रिय टेन्डर रद्द गरिएको स्रोतले जनाएको छ ।

विभागले २० लाख प्रति ई–पासपोर्ट छपाइका लागि गत फागुन १९ गते टेन्डर आह्वान गरेको थियो । टेन्डर प्रक्रियामा फ्रान्स, अमेरिका, जर्मनी र चिनियाँसहित चारवटा कम्पनीले भाग लिएका थिए । ‘बोलपत्रको नयाँ टेन्डरबारे सूचना २१ दिनको म्याद तोकेर छिट्टै प्रकाशित गरिनेछ,’ महानिर्देशक खड्काले बताए।

कागजातलाई कारण देखाएर ठेक्का रद्द गर्ने तयारी भए पनि अन्तर्यमा भने ठेक्कामा सहभागी कम्पनीका नेपालस्थित स्थानीय एजेन्टको आपसी रिसिइबीका कारण ठेक्का रद्द भएको सूचना यसअघि सार्वजनिक भइसकेको छ । यसअघि खोलिएको प्रस्तावका अनुसार फ्रान्सेली कम्पनी आइडेमिया आइडेन्टिटी एन्ड सेक्युरिटी, अमेरिकी कम्पनी एचआईडी ग्लोबल, जर्मनीको लिबवा आइडी सर्भिस र चिनियाँ कम्पनी आइसिनो कर्पोरेसनले पासपोर्ट छाप्ने प्रस्तावमा बोलपत्र हालेका थिए ।

आर्थिक प्रस्ताव खोलेपछि विभागले प्राविधिक प्रस्तावको मूल्यांकनका लागि समिति गठन गरेको र यही समितिको प्रतिवेदनलाई आधार बनाएर दोस्रो पटक पनि पासपोर्टको टेन्डर रद्द गरिएको खबर कान्तिपुरमा छँपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?