विदेशमा अलपत्र परेका नागरिकहरुको उद्धारमा नियमित उडान संख्या बढाउन माग

काठमाडौं । विभिन्न देशका राजदूतहरुले कोरोना संक्रमणको जोखिमका कारण विभिन्न देशमा अलपत्र नेपाली नागरिकहरुको उद्धारका लागि नियमित उडान संख्या बढाउन सरकारलाई सुझाव दिएका छन ।

कोरोना संक्रमणका कारण उडान बन्द हुँदा नेपाल आउन नपाएका, रोजगारी गुमाएका र भिसा अवधि सकिएका हजारौँ नेपालीहरु फर्किन तयार रहेकाले उडानको संख्या बढाउनुपर्ने सुझाव राजदूतहरुको छ । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको भर्चुअल छलफलमा राजदूतहरुले विदेशमा नेपाली कामदारहरुको अवस्थाका विषयमा समेत जानकारी गराएका छन ।

मलेशियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले ११ हजार बढी नेपाली श्रमिक स्वदेश फर्किएपनि अझै करिब ८ हजार फर्किने तयारीमा रहेको बताए । स्वदेश फर्किन नाम दर्ता गराएका बाहेक हरेक दिन ३ सय नेपालीहरुको भिसा अवधि सकिने गरेको उनले बताए । दशैँ तिहारको समय नजिकिँदै गर्दा चाप बढ्न सक्ने भएकाले एक हप्तामा १६ वटा नियमित उडान आवश्यक पर्ने उनको भनाई छ । उनले कल्याणकारी कोषबाट उद्धार गर्ने नीति सरकारले लिएपनि व्यवहारिक हुन नसकेको बताए । अव्यवहारिक निर्देशिका अनुसार समस्यामा परेका नागरिकहरु घर फर्किन नपाएको उनले बताए ।

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले स्वदेश फर्किन चाहाने नेपालीहरुको संख्या धेरै नभएपनि समस्यामा परेकाहरुलाई पूर्ण रुपमा पीसीआर परीक्षण गरी पठाउने गरिएको बताए । करिब १४ सय जना अहिलेसम्म नेपाल फिर्ता भएको उल्लेख गर्दै उनले सकेसम्म निरोगी व्यक्तिहरुलाई आफ्नो देश फर्काउनुपर्ने नीति अनुसार पीसीआर रिपोर्ट नेगेटिभ भएकाहरुलाई स्वदेश फर्काउने गरिएको बताए ।

कुबेतका लागि नेपाली राजदूत दुर्गा प्रसाद भण्डारीले कुवेतमा ७० हजार कामदार रहेकोमा कोभिडका कारण ९ हजार २ सय बढीले स्वदेश फर्किनका लागि नाम दर्ता गराएका बताए । अहिलेसम्म करिब ५४ सय जना नेपाली स्वदेश फर्किएको उनले बताए ।

कतारका लागि नेपाली राजदूत डा. नारद नाथ भारद्वाजले कतारमा सीप नभएका अदक्ष कामदारहरुले समस्या भोगिरहेको बताए । उनले कोरोनाका कारण समस्यामा परेका नागरिकहरुलाई तत्काल उद्धार गर्न नसके समस्या उत्पन्न हुन सक्ने बताए । २० हजार बढीले स्वदेश फर्किनका लागि नाम दर्ता गराएको उल्ल्ेख गर्दै उनले अझै प्रतिदिन १ सय ५०ले बढेको उनले बताए । दैनिक ४ वटा उडान गर्न नसके अहिले कतारमा थन्किएका १६ हजार बढी र चाडबाँडको समयमा फर्किन चाहानेहरु समेत समस्यामा पर्ने उनले बताए ।

साउदी अरेबियाका लागि नेपाली राजदूत डा. महेन्द्र प्रसाद सिंह राजपुतले २८ हजार बढीले स्वदेश फर्किन निवेदन दिएपनि १० हजारलाई मात्रै पठाउन सकिएको बताए । उडानका लागि नेपालका सम्बन्धित अधिकारीहरुले आवश्यक समन्वय नगर्दा समस्या उत्पन्न हुने गरेको बताए । स्वदेश फर्किन विमानस्थल पुगेका नागरिकहरुलाई अन्तिम समयमा आएर काठमाडौंबाट उडान स्थगित भएको भन्ने जानकारी आउँदा समस्या हुने गरेको उनले बताए ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले कोभिड—१९ क्राईसिस म्यानेजमेन्ट सेन्टरको निर्णअनुसार चार्टर्ड उडान मार्फत नेपालीहरुलाई स्वदेश फर्काउने गरिएको बताए । अहिलेसम्म ११ सयलाई स्वदेश फर्काइएको उल्लेख गर्दै उहाँले दशैको समयमा चाप बढ्न सक्ने बताए ।

राजदूतहरुले इलिगल कामहरु बढी समस्यामा पर्ने गरेको बताएका छन । नेपालमा नै सम्बन्धि देशहरुसँगको श्रम सम्झौता अनुसार नेपालमा नै सीप सिकाएर पठाउनुपर्नेमा उनीहरुले जोड दिएका छन । विशेष गरी घरेलु कामदारहरुलाई आफु जाने देशको प्रचलित कानून र भाषाको ज्ञान नहुँदा पनि समस्या हुने गरेको उनीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?