स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न पर्यटन मन्त्री भट्टराईको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । आजदेखि शुरु भएको मुलुकको आन्तरिक उडानको अवस्था, सुरक्षित उडानका लागि एयरलाइन्सले अपनाएको स्वास्थ्य मापदण्डलगायतको अवलोकनका लागि मन्त्री भट्टराई विमानस्थल पुगेका हुन् ।

पर्यटनमन्त्रीका साथमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललगायतका उच्च अधिकारी पनि विमानस्थलको अवलोकनमा सहभागी भएका थिए । पर्यटनमन्त्रीले आन्तरिक टर्मिनलमा यात्रुको सुरक्षाका लागि एयरलाइन्सले अवलम्बन गरेको स्वास्थ्य मापदण्ड, स्वास्थ्य सावधानीको निरीक्षण तथा अवलोकन गरे ।

उनले स्वास्थ्य सावधानीका लागि थप सजगता अपनाउन र स्वास्थ्य प्रोटोकल पूर्णरुपमा पालना गर्न एयरलाइन्सलाई निर्देशन दिनुभएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ । टोलीले आन्तरिक टर्मिनलको साथै अन्तर्राष्ट्रिय टर्मिनलको अवलोकन तथा सेवाबारे सम्बन्धित अधिकारीसँग जानकारी लिएका थिए ।

कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभार लागू गरिएको बन्दाबन्दी र पछिल्लो निषेधाज्ञाका कारण झण्डै ६ महिनापछि आजदेखि आन्तरिक उडान शुरु भएको थियो । सामान्य अवस्थाको २५ प्रतिशत क्षमतामा आन्तरिक उडान सञ्चालनका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको छ ।

शुरुको सातादिनको अवस्थालाई हेरेर क्रमशः उडान संख्या थपिने प्राधिकरणले जनाएको छ । अहिले आन्तरिकतर्फ दैनिक ५० वटा सम्म उडान सञ्चालन गरिनेछ । आज बुद्ध एयर र यती एयरलाइन्सले मुख्य गन्तब्यमा उडान भरेका छन् । बुद्धले आफ्नो राजविराज बाहेक सबै गन्तब्य र यतीले पोखरा, चितवन र विराटनगरमा उडान भरेको छ ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?