सिसी क्यामेराको निगरानीमा मालपोत कार्यालय

काठमाडौं । मालपोत कार्यालय तनहुँको गतिविधिलाई सिसी क्यामेराले निगरानी गरिराखेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भूमि व्यवस्था तथा अभिलेख विभागको सहयोगमा साउण्ड रेर्कडसहितको सिसी क्यामेरा जडान गरिएपछि सो कार्यालयको गतिविधिको निगरानी भइरहेको हो ।

मन्त्रालय र विभागले सबै मालपोत कार्यालयमा सिसी क्यामेरा जडान गर्ने अभियान थालेको छ । सिसी क्यामेरामा रेर्कड भएका कुरा छ महिनासम्म सुरक्षित रहने मालपोत कार्यालय तनहुँले जनाएको छ । सिसी क्यामेरा जडानले लेखापढी कानून व्यवसायी र कर्मचारीबीच हुने भनिएको आर्थिक चलखेल र अनियमितता पूर्णरुपमा अन्त्य हुने विश्वास गरिएको मालपोत कार्यालय तनहुँका प्रमुख शेरबहादुर भण्डारीले बताए ।

उनका अनुसार कार्यालयको सुरक्षा, कर्मचारीद्वारा सेवाग्राहीलाई गरिने व्यवहार, कार्यमा पारदर्शीता, अभिलेखको सुरक्षालगायतका क्षेत्रमा सिसी क्यामेराबाट निगरानी बढाइएको छ । “कार्यालयको १५ वटै कोठामा सिसी क्यामेरा जडान गरिएको छ”, उनले भने, “सिसी क्यामेरा जडान पश्चात लेखापढी कानून व्यवसायीलाई कार्यालयको फाँटमा पस्न रोक लगाइएको छ ।”

कार्यालयले महिला, दलित, जनजाति, शहीद, अपाङ्गता र कृषि फार्मको लागि रजिष्ट्रेशन पास गर्दा २५ प्रतिशत राजश्वमा छुटको व्यवस्था गरेको छ । प्रायः दैनिक भीडभाड हुने यो कार्यालयमा कोभिड– १९ का कारण पछिल्लो समय सुनसान जस्तै देखिएको थियो । अहिले पुनः सेवाग्राहीको सङ्ख्या बढ्दै गएको कार्यालयले जनाएको छ । कार्यालयले आव ०७५-७६ मा रु २८ करोड ५८ लाख ६९ हजार १९९ र आर्थिक वर्ष ०७६-७७ मा रु २४ करोड ४६ लाख ४८ हजार ८४ राजश्व सङ्कलन गरेको जनाएको छ ।

लकडाउनका कारण करिब तीन महिना कार्यालय बन्द नै गर्नुपरेकाले यस आवमा राजश्व सङ्कलनमा अझै कमी आउनसक्ने अनुमान गरिएको कार्यालय प्रमुख भण्डारीले बताए ।

फरार मुद्दाका १३४ पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका व्यक्तिलाई धमाधम पक्राउ गर्न थालेको छ ।

जिल्ला अदालतबाट फैसला भई दण्डजरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भई फरार रहेको व्यक्तिलाई प्रहरीले असारको दोस्रो सातादेखि खोजी कार्यलाई तीव्रता दिँदै आएपछि उनीहरु पक्राउ पर्न थालेका हुन् । गत असारमा नौ, साउनमा ४५, भदौमा ५४ र असोज चार गतेसम्म २६ गरी कूल १३४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

उनका अनुसार जरिवाना भुक्तान बाँकी रहेका व्यक्तिबाट हालसम्म रु २३ लाख १५ हजार ८५३ रकम सङ्कलन भएको छ । ठगी, चोरी, बहुविवाह, सवारी ज्यान, कर्तव्य ज्यान, लागुऔषध, बैंकिङ कसुर, किर्ते, वन, सार्वजानिक अपराध, तथा देवानीलगायत मुद्दामा फरार रहेका व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ ।

एकै दिन पक्राउ परे २५ जना

तोकिएको कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका भानु नगरपालिका–१३ सम्जुरका ३० वर्षीय सुरेन्द्रकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

तनहुँ जिल्ला अदालतले विसं ०७३ चैत १७ गते बहुविवाह सम्बन्धि मुद्दामा उनलाई एक वर्ष कैद र रु दश हजार जरिवाना हुने गरी फैसला सुनाएको थियो । तीमध्ये ११ महिना १९ दिन कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रही विगत चार वर्षदेखि फरार रहेका श्रेष्ठलाई पक्राउ गरी जिल्ला अदालत समक्ष पेश गरिएको प्रहरी नायब उपरीक्षक तिमिल्सेनाले बताए ।

त्यसैगरी लागुऔषध मुद्दाका फरार अभियुक्त बन्दिपुर–१ नहालाका किना परियारलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत तनहुँले विसं ०७७ वैशाख २ गते लागुऔषध सम्बन्धि मुद्दामा उनलाई ६ महिना कैद तथा रु तीन हजार जरिवाना हुने फैसला गरेको थियो । तीमध्ये चार महिना १९ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेकी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विभिन्न मुद्दाका फरार अभियुक्तमध्ये २५ जना आइतबार पक्राउ परेका छन् । उनीहरुलाई तोकिएको जरिवाना र कैद भुक्तानका लागि जिल्ला अदालत समक्ष उपस्थित गराइएको छ ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?