अब बैंकमा जानै नपर्ने : एन आई सी एशियाले ल्यायो अनलाईनबाटै भौचर भर्ने सुविधा

काठमाडौं । एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई आफ्नो चेक वा आफुले चाहेको खातामा रकम जम्मा गर्न अनलाईनबाटै भौचर भर्न मिल्ने प्रणालीको शुभारम्भ गरेको छ ।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ सञ्चालित यस बैंकले नेपालको बैंकिङ्ग इतिहासमै पहिलो पटक ग्राहकवर्गले घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटरबाटै भौचर भर्न मिल्ने सुविधा ल्याएको हो ।

कसरी प्रयोग गर्ने उक्त सुविधा ?

ग्राहकहरूबाट आफ्नो मोबाइल वा कम्प्युटरमार्फत https://www.iserve.nicasiabank.com लिंकमा गई चेक जम्मा गर्न डिजिटल माध्यमबाट भौचर भर्न सकिनेछ ।

उक्त लिंक भित्र सेवाग्राहीहरूका लागि भौतिक फारमकै ढाँचाको डिजिटल भौचर राखिएको छ । उक्त भौचरमा आफुलाई पायक पर्ने शाखा छनौट गरी आवश्यक विवरणहरु भरिसकेपछि बैंकबाट सेवाग्राहीलाई एसएमएस (SMS) मार्फत डिपोजिट कोड पठाईनेछ र त्यसपछि उक्त डिपोजिट कोडसहित सेवाग्राही सिधै बैंकको शाखामा उपस्थित भई बिना कुनै भौचर सोझै काउण्टरमार्फत आफुले चेक जम्मा गर्न चाहेको खातामा चेक जम्मा गर्न सकिनेछ ।

यसरी चेक जम्मा गर्दा सेवाग्राहीले काउण्टरमा बसेको बैंकको कर्मचारीलाई आफ्नो डिपोजिट कोड भनेपछि चेक बुझ्ने र यसपछि बैंकका कर्मचारीद्वारा चेक जम्मा भएको भौचर सम्बन्धित सेवाग्राहीलाई प्रदान गरिनेछ । बैंकले ल्याएको अनलाईनबाटै भौचर भर्न सकिने सुविधाले लाइन नबसी सेवा लिन सकिने हुनाले काउण्टरमा पुगेर लामो समय लाइनमा बस्नुपर्ने परम्पराको अन्त्य हुने बैंकले विश्वास लिएको छ ।

चेक जम्मा गर्ने भौचर अनलाईन भर्ने यस सेवाको अलावा बैंकले नगद रकम जम्मा गर्ने भौचर समेत अनलाईन प्रणालीबाट भर्ने प्रणाली ल्याइसकेको छ भने सेवाग्राही आफै बैंकको शाखा पुगेर डिजिटल माध्यमबाट बचत खाता खोल्न मिल्ने ‘Digital Account Opening’ प्रणालीको समेत शुरुवात गरिसकेको छ ।

साथै मोबाइल बैंकिङ्ग सेवा नवीकरण, अनब्लक, ब्लक, तथा पिन रिसेट गर्ने एवं मौदात विवरण, चेक अनुरोध, ई–कमर्श दर्ता, ब्यालेन्स सर्टिफिकेट अनुरोध, ABBS सुविधा र स्टेटमेन्ट अनुरोध गर्नका लागि समेत यस iserve मार्फत सेवा दिईरहेको छ र उक्त सेवाहरू iserve मार्फत लिँदा शतप्रतिशतसम्म शुल्क छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

एन आइ सी एशियाको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६७ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल रहेको छ । त्यस्तै बैंकको २२ लाख भन्दा बढी ग्राहकहरू रहेका छन् । भने बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?